काठमाडौँ —प्रमुख तीन दलले बाढी, पहिरोपीडितलाई थप पीडा हुने गरी दसैंलक्षित शुभकामना कार्यक्रम नगर्न तल्ला समितिलाई निर्देशन दिएका छन् ।
एमाले र माओवादी केन्द्रले तल्ला समितिलाई लिखित सर्कुलरबाट र कांग्रेसले सय दिने अभियानमा जोडेर दसैंको मुखमा ठूलो धनजनको क्षति भएकाले सुखद दसैं नभएको जनाएका छन् । तीनै दलले बाढी पहिरोका कारण २ सय ५० भन्दा बढीका दुःखद् निधन र ठूलो भौतिक क्षति भएको भन्दै पीडितलाई दुःखमा सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले यो दुःखद् घडीमा शुभकामना आदानप्रदान कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् ।
तीनै दलले बाढी, पहिरो प्रभावित क्षेत्रमा पीडितको दुःखमा साथ दिन र अरु क्षेत्रमा दसैंमा स्थानीय रुपमा छलफल गर्न भनेका छन् । उनीहरुले जनताका सुख दुःखमा सहभागी हुनु पार्टीका नेता तथा कार्यकर्ताको कर्तव्य भएको भन्दै गाउँ गएको अवसरमा जनसम्पर्क बढाउन निर्देशन दिएका हुन् ।
एमाले महासचिव शंकर पोखरेलले नेपाली हिन्दूहरुको महान् चाड दसैंको मुखमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा आएको बाढी पहिरोले ठूलो धनजनको क्षति पुर्याएको उल्लेख गर्दै पीडितको दुःखमा सहभागी हुन सर्कुलर गरेका छन् । बाढी, पहिरो प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गाउँ जाने नेता, कार्यकतालाई जनताको दुःखमा सहभागी हुन सर्कुलर जारी गरेको बताए ।
‘दसैंको मुखमा आएको बाढी, पहिरोले ठूलो धनजनको क्षति पुर्याएको क्षेत्रमा दसैंको बेलामा समेत राहत उपलब्ध गराउन, घरबास क्षति पुर्याएको क्षेत्रमा दसैं मनाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ,’ उनले भने, ‘सामान्य अवस्थामा रहेका क्षेत्रमा दसैंको अवसरमा जनतासँग सम्वाद गर्न भनिएको छ ।’ उनले दसैंको मुखमा भएको धनजनतको क्षतिलाई ध्यान दिंदै ठूला शुभकामना आदानप्रदान कार्यक्रम गर्न उचित नभएको बताए ।
उनले जिल्ला र स्थानीय कमिटीले स्थानीय विशेषताअनुसार दसैंमा कार्यक्रम गरिरहेको बताए । ‘परम्परालाई निरन्तर दिंदै दसैंलाई पनि राजनीतिक हिसाबले मनाउन सकिन्छ,’ उनले थपे ।