२१ अशोज २०८१, सोमबार
नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा नेता रेशम चौधरीले सत्ता गठबन्धनलाई दशैंपछि आफ्नो दल सरकारमा नरहने चेतावनी दिएका छन् ।
आज आफ्नो भिडिओ सन्देश मार्फत आफ्ना पार्टीका मन्त्रीहरूलाई काम गर्ने वातावरण सृजना नगरिदिएको र अधिकार नदिएको भन्दै उनले सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।
नाउपाको संघीय संसद्मा चार,सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेश प्रदेशमा एक सांसद छन् । अहिले सङ्घमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी र सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मण किशोर चौधरी छन् । रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदा हुँदै अधिकार नदिएको बताएका छन् ।
सुरुबाटै सरकारमा सहभागी नहुने नीति हुँदा हुँदै केही जनप्रतिनिधिहरूको कारण सरकारमा सहभागी भएको भन्दै उनले अहिले आफूहरूको माग सम्बोधन नभए अब सरकारमा सहभागी नहुने बताए।