काठमाडौं—आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा तोकिएको छ । यो रुटमा बुद्ध, यती र श्रीले न्यूनतम ५२ सयदेखि अधिकतम ८४ सय रुपैयाँ हवाई भाडा लिने गरेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले निगमको न्यारोबडी विमानलाई फूलपातीका दिन उडान अनुमति दिएको बताए । ‘यो स्पेसल चार्टर उडान हुनेछ । काठमाडौंबाट ११ बजे उड्ने विमान भैरहवाबाट साढे १२ बजे यात्रु लिएर काठमाडौं फर्किने तालिका स्वीकृत भएको छ ।’ फूलपातीको दिन एकसाथ १५८ जना निगमको न्यारोबडीमा जान पाउनेछन् । बुद्ध, यती र श्रीले हाल ७२ सिट हाराहारीका जहाजबाट सेवा दिइरहेका छन् ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार एक दिनमात्रै काठमाडौं– भैरहवा–काठमाडौं चार्टर उडान हुनेछ । आन्तरिकतर्फ न्यारोबडीले पहिलो पटक व्यावसायिक उडान अनुमति पाएको हो । यसअघि हिमालय एयरलाइन्सको न्यारोबडीले काठमाडौं–पोखरा–काठमाडौं र निगमको न्यारोबडी र वाइडबडीले काठमाडौं–भैरहवा–काठमाडौं परीक्षण उडान गरिसकेका छन् ।
असोज ११–१२ को भारी वर्षाले ल्याएको बाढीपहिरोले सबैजसो राजमार्गमा अवरोध भएकाले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका न्यारोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले बताए । ‘विपद्का बेला बुद्ध, यती र श्री एयरलाइन्ससँग भएका दुई दर्जन ७२ सिट हाराहारीका जहाजमा यात्रुले सजिलै टिकट नपाउने, पाइहाले पनि अधिकतम मूल्यको टिकट पाउने भएकाले हामीले भैरहवा, विराटनगर र धनगढी पनि दुवै वायुसेवा कम्पनीका न्यारोबडी जहाज पठाउन मन्त्रालयका तर्फबाट पहल गरेका छौं,’ राज्यमन्त्री चौधरीले भने, ‘निगमले भैरहवाका लागि अनुमति लिइसकेको छ । अब हिमालयले पनि पोखरा उड्ने इच्छा व्यक्त गरेको छ ।’
काठमाडौंबाट पोखरा र भैरहवामा हिमालय एयरलाइन्सले पनि उडान गर्ने प्रस्ताव गरेको छ । हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैंअघि उडान गर्ने योजना रहेको बताए । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई अनुमति जारी गर्छ भने हामी उडान गर्न सकारात्मक छौं,’ उनले भने । हिमालयले यात्रुको मागअनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यारोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ मध्ये कुनै पनि प्रकारको जहाज पठाउन सकिने जनाएको छ ।
आन्तरिक उडानमा न्यारोबडी जहाज पठाउँदा वायुसेवा कम्पनीलाई फाइदा नभएको बताउँदै राज्यमन्त्री चौधरीले राज्यको उपस्थिति देखाउन यो निर्णय लिनु परेको बताए । ‘हामी दुवै वायुसेवालाई इन्धन, विमानस्थलमा तिर्नुपर्ने ल्यान्डिङ, पार्किङलगायतका शुल्क मिनाहाका लागि पहल गरिरहेका छौं,’ राज्यमन्त्री चौधरीले भने, ‘यी दुवै वायुसेवा कम्पनीले आफ्ना नियमित अन्तर्राष्ट्रिय उडानलाई असर नपारेर आन्तरिक उडान गर्नेछन् ।’