विराटनगर— सर्वसाधारणले गएको चार दिन (आइतबार, सोमबार, मंगलबार र बुधबार) मा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मात्र साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोटको सटही सुविधा लिएका छन् ।
राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट मात्र आइतबार १ करोड ४५ लाख, सोमबार १ करोड ८० लाख, मंगलबार २ करोड ३० लाख र बुधबार २ करोड २ करोड ९२ लाख गरी करिब ८ करोड ४७ लाख रुपैयाँ सटही सुविधा लिइसकेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख प्रदीपराज पौड्यालले बताए ।
बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका प्रादेशिक कार्यालयबाट वितरण भएको नोटको विवरण उल्लिखित तथ्यांकमा समावेश छैन । त्यो तथ्यांक पनि जोड्दा सर्वसाधारणले चार दिनमा सटही गरेको रकम धेरै हुने राष्ट्र बैंकले जनाएको छ । ‘केन्द्रीय कार्यालय बालुवाटारमा मात्र नोट सटहीका लागि ८ वटा काउन्टर बनाएका छौं । यद्यपि अहिले ६ वटा मात्र सञ्चालनमा ल्याएका छौं, सर्वसाधारणले सहज रूपमा ती काउन्टरमार्फत नोट सटही सुविधा लिइरहेका छन्,’ उनले भने, ‘यस वर्ष सुकिला नोट वितरण गर्न लागिएकाले विगतका वर्षमा जस्तो भीडभाड छैन । जसलाई आवश्यक परेको छ, उनीहरूले सटही सुविधा लिएका छन्, यस कारण अनियन्त्रित भीडभाड छैन ।’ सबै बैंक तथा वित्तीय संस्थाले पनि सजिलै नोट सटही सुविधा दिइरहेकाले राष्ट्र बैंकमा मात्र भीड नरहेको पौड्यालले जनाए ।
नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै दसैंका लागि यही असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना जारी गरिसकेको छ । यसअनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिइरहेको राष्ट्र बैंकले जनाएको छ । सबै दरका एक/एक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सहटी गर्ने वितरण भइरहेको छ । यद्यपि औचित्य खुलाएमा सर्वसाधारणले अनि आवश्यकताअनुसार नोट सटही गर्न सक्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
‘नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिनेछ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ ।’
विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट नभई सुकिला मात्र वितरण गरेको छ । दुई साता अघि बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको जनाइएको छ । डिजिटल कारोबारलगायत कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।
नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । राष्ट्र बैंककै एक अध्ययनले पछिल्ला पाँच आर्थिक वर्षमा औसत नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।
यसरी वितरण गरिएका नोटमध्ये केही दसैं र तिहारको बीचमा र धेरैजसो तिहारपछि बैंक तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंकमा फर्कन्छन् । राष्ट्र बैंकमा फर्किएपछि ती नोट ‘सुकिला’ हुन्छन् । बैंक तथा वित्तीय संस्थाले ती नोट लगे पनि सर्वसाधारणले नलाने भएकाले राष्ट्र बैंकको ढुकुटीमा थुप्रिँदै आएको छ । अहिले त्यही नोट व्यवस्थापन गर्न लागिएको हो ।
एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको र अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिमाणमा नोट थुप्रिँदै गएको राष्ट्र बैंकले बताएको छ ।