विराटनगर महानगरपालिका-६ केशलिया मार्गबाट सुनसरीको दवानगन्ज गाउँपालिका-५ का सुरेन्द्रप्रसाद साहलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए। गोप्य सूचनाका आधारमा को ७ प ५२२१ नम्बरको मोटरसाईकलमा जाँदै गरेका साहतलाई नगदसहित पक्राउ गरिएको दाहालले बताए।
उनलाई बरामद रकम र मोटरसाईकलसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरीमा बुझाइएको छ।
यसअघि पनि विराटनगर-१५ मा बस्दै आएका लक्ष्मणप्रसाद साहलाई सशस्त्र प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा १६ लाख १० हजार रुपैंयासहित पुस ३ मा पक्राउ गरेको थियो। उनी त्यत्तिनै रकम धरौटी राखेर राजश्व अनुसन्धान कार्यालयबाट छुटेका छन्।
हुण्डी कारोबार नियन्त्रण अभियान चलिरहेकाले पछिल्लो समय यसमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको डीएसपी दाहालले बताए। हुण्डी कारोबारीले रकम बोक्न बालबालिकालाई भरियाका रुपमा प्रयोग गरिरहेको उनको भनाइ छ।
यसअघि कात्तिक १४ मा मोरङबाट १६ वर्षीय बालकलाई २१ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए। त्यसअघि, विराटनगरबाट धर्मानन्द साहलाई चार लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरिएको थियो।
यस्तै, मोरङबाटै रंजितकुमार साहलाई नौ लाख २० हजार रुपैयाँसहित पक्राउ गरिएको थियो। पक्राउ परेका सबैलाई राजश्व अनुसन्धान कार्यालय इटहरीबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
हुण्डीका भरिया पक्राउ परे पनि मुख्य कारोबारीसम्म प्रहरी पुग्न सकेको छैन।