विराटनगर- बंगलादेशमा सरकारविरोधी पछिल्लो प्रदर्शनमा एकै दिन ९१ जनाको मृत्यु भएको छ । आइतबार भएको प्रदर्शनमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको हो ।झडपमा दुई सयभन्दा बढी घाइते भएका र १४ सुरक्षाकर्मी मारिएका भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।
प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग गर्दै आएका हजारौँ सरकारविरोधी प्रदर्शनकारी र सरकार समर्थकबीच आइतबार दिनभर झडप भएको थियो । सामाजिक सञ्जालमा देखाइएका भिडियोमा ढाकामा खचाखच भिडले घेरिएको बख्तरबन्द कारमाथि प्रदर्शनकारीहरूले बंगलादेशी झन्डा फरफराएका थिए । निजामती सेवामा आरक्षण प्रणालीविरुद्धको र्यालीले जुलाईमा हिंसात्मक रूप लिएको थियो । उक्त प्रदर्शन प्रधानमन्त्री सेख हसिनाको १५ वर्षको कार्यकालको सबैभन्दा खराब अशान्तिको रूपमा लिइएको छ ।
आइतबार ढाकाका विभिन्न स्थान, उत्तरी जिल्ला बोगरा, पबना, रंगपुर र सिल्हेटका साथै पश्चिममा मागुरा, पूर्वमा कुमिल्ला, दक्षिणमा बरिसाल र फेनीमा भएका आन्दोलनमा एकै दिन ठूलो संख्यामा मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ । करिब १७ करोड जनसंख्या भएको दक्षिण एसियाली यस मुलुकमा विरोध प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको छ ।
जनआन्दोलनमा फिल्म स्टार, संगीतकार र गायकहरूसहित बंगलादेशी समाजका सबै तहका नागरिक सहभागी भएका छन् । जनताको समर्थनको आह्वान गर्ने र्याप गीतहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन् ।देशको स्वतन्त्रताका लागि लडेका सेनानीका सन्तानलाई जागिरको एकतिहाइ पद आरक्षित गरेपछि आन्दोलन सुरु भएको थियो । बढ्दो बेरोजगारीबीच यो आरक्षण सत्तारूढ अवामी लिगका बफादारलाई सरकारी जागिरमा भर्ती गरिएको विपक्षीले आरोप लगाउँदै आएका छन् । आन्दोलन चर्किएपछि हसिना सरकारले सेना तैनाथ गरेर कर्फ्यु लगाएको थियो । प्रदर्शनका क्रममा ११ दिनसम्म मोबाइल इन्टरनेट सेवा बन्द भएको थियो । सरकारविरोधी आन्दोलनमा यसअघि कम्तीमा २०० जनाको मृत्यु भइसकेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आन्दोलनका क्रममा १० हजारभन्दा बढी मानिस पक्राउ परेका छन्, जसमध्ये अधिकाशं रिहा भइसकेका छन् । तर, आन्दोलनका प्रमुख नेताहरूको रिहाइ नभएपछि आन्दोलनका संयोजना गरेको ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ उनीहरूको रिहाइको माग गर्दै फेरि विरोधको कार्यक्रम सार्वजनिक गरेको थियो । यसअघि प्रहरीले आरक्षण प्रणालीविरूद्धको आन्दोलनको नेतृत्व गरेका सबै ६ जना संयोजकलाई परिवारको जिम्मा लगाएको थियो ।