विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमाना हनुमाननगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन निर्देशन दिएका छन् ।
सडक विभागको आब २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनसत्रलाई सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री ओलीले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न सम्बन्धित निकायलाई भनेका हुन् ।
नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले पानीजहाजबाट सीमापारदेखि सामानहरु ल्याउन–लान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सकिने बताए ।
‘पानीजहाजको तयारीसँगै हनुमाननगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खेलौँ । ठूला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ,’ भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी/इञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भने, ‘पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुपर्छ । हाल सञ्चालित कुर्था–जनकपुर रेलमार्गमा दुई वटा रेल थप्नुपर्छ । त्यहाँको मार्गलाई बर्दिबाससम्म ल्याउनुपर्छ । पूर्व-पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काई रेल चलाउनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले पूर्व-पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताए । उनले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनाहरु स्तरीय ढंगले छिटो सम्पन्न गर्न ध्यान दिन पनि सडक विभागका अधिकारीलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको मागअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढीभन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिए ।
उनले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमा दिन सक्ने तर भ्रष्टाचार सैह्य नहुने बताए ।