विराटनगर— ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप तथ्यहरू फेला पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस प्रकरणमा थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ भारतीय र २ जना चिनियाँ नागरिकसमेत रहेका छन् ।
सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरेर यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरेका छन् । ब्रेकसूलगायतका विभिन्न सामानमा लुकाएर ल्याउने क्रममा २०८० साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो ।
सीआईबीको अनुसन्धानअनुसार यही तस्करीमा संलग्न समूहले ३१९४ किलो सुन तस्करी गरेको खुलेको छ । जसमा ब्रेकसूमा लुकाएर मात्र ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको पाइएको छ । त्यस्तै विभिन्न इलेक्ट्रोनिक सामानमा भने २ हजार ८ सय ३१ किलो ८ सय ९० ग्राम तस्करी भएको खुलेको सीआईबीको निष्कर्ष छ । यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो । ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ ।
अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत संलग्न भएको खुल्न आएको छ । पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको सीआईबी प्रमुख ज्ञवालीले जनाएका छन् ।
स्थापनादेखि यी गेटवेमार्फत १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्बबराबरको कारोबार गरेको देखिएको छ । उक्त प्रकरणमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जना पक्राउ परेका छन् ।