विराटनगर — राइनास नगरपालिका–४ की भगवती कँडेलले १० रोपनी जग्गामा १६ हजार ८५ किलो आलु फलाइन् । ८ हजार ५० किलो आलु खेतबाटै २३ रुपैयाँका दरले बिक्री गरिन् । कृषि ज्ञान केन्द्रले प्रतिकिलो २ रुपैयाँका दरले अनुदान दियो ।
कृषिले प्रतिकिलो ७० रुपैयाँ पर्ने आलुको बीउ ७५ प्रतिशत अनुदानमा र निःशुल्क विषादीसहित प्राविधिक सेवा उपलब्ध गराउने भनेपछि हौसिएर आलु खेती गरेकी कँडेलले अनुदान रकमसहित २ लाख बढी आम्दानी गरिन् । खेतबाटै बिक्री भएर बाँकी ८ हजार किलो बढी आलुमध्ये केही आफूलाई राखेर उनले बिक्री गरिन् ।
सुन्दरबजार नगरपालिका–१० का शिव अधिकारीले ५ रोपनीमा ४ हजार ८ सय किलो आलु फलाए । ३ हजार ६ सय किलो आलु २३ रुपैयाँका दरले खेतबाटै बिक्री गरेर करिब ८३ हजार रुपैयाँ आम्दानी गरे । उनी मात्रै होइन, गाउँका अन्य ४० जनाले भाग्योदय समूहमा आबद्ध भएर ५० हजार ४ सय १७ किलो आलु फलाए । यीमध्ये २४ हजार १ सय ५० किलो आलु खेटबाटै बिक्री हुँदा ५ लाख ५५ हजार ४ सय ५० आम्दानी भयो । यो भन्दा बढी आलु उनीहरूले बाहिर बिक्री गरे । उनीहरूले प्रतिकिलो ३० देखि ४० रुपैयाँका दरले बिक्री गरे ।
राइनास–४ का ५९ जना किसानले १ लाख ५२ हजार ५ सय ३० किलो आलु फलाएका छन् । ८८ हजार ६ सय ५० किलो आलु खेतबाटै बिक्री हुँदा २० लाख ३८ हजार ९ सय ५० रुपैयाँ आम्दानी गरे । १ लाख ७७ हजार ३ सय रुपैयाँ कृषिबाट अनुदान पाएका छन् । खेतबाटै बिक्री गरेर बाँकी किसान आफैंले बिक्री गरेका किसान भगवती कँडेलले बताइन् । ‘खेतबाटै जति बिक्री भयो । बाँकी हामी आफैंले बिक्री गर्यौं । केही आफन्तलाई पठायौं, केही आफैं राख्यौं,’ उनले भनिन् ।
राइनास–३, ४ र ६, सुन्दरबजार–१० र मध्यनेपाल नगरपालिका–१० का किसानले मात्रै यस वर्ष ५ सय ९ रोपनीमा आलु खेती गरेको कृषि ज्ञान केन्द्र लमजुङका वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जनाए । ४ लाख ७४ हजार किलो आलु फलाउँदा २ लाख ४७ हजार ९ सय १८ किलो आलु खेतबाटै बिक्री भएको उनले बताए । खेतबाटै बिक्री भएको आलुबाट ५७ लाख २ हजार १ सय १४ रुपैयाँ आम्दानी गरे । किसानलाई खेतबाटै बिक्री गरेको आलुको प्रतिकिलो २ रुपैयाँका दरले ४ लाख ९५ हजार ८ सय ३६ रुपैयाँ अनुदान दिइएको उनको भनाइ छ ।
किसानले बाँकी आलु घरमा लगेर बिक्री गरेका छन् । ‘होलसेलमा भन्दा खुद्रा बिक्रीमा मूल्य अवश्य धेरै हुन्छ । किसानले प्रतिकिलो ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म बिक्री गरेको सुन्छु । हामीसँग उत्पादन गरेको मात्रै रेकर्ड छ,’ उनले भने । आठ वटा समूहका किसानले आलुबाट १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । तल्लो क्षेत्रमा हिउँदे आलु खेती गरिएकामा माथिल्लो क्षेत्रका किसाले बर्खे आलु लगाएका छन् । क्व्होलासोथार गाउँपालिका ८ घाम्राङको कोम्रो कृषक समूहले १ सय रोपनी क्षेत्रफलमा आलु खेती गरेको कृषक ईश्वर गुरुङले बताए ।
समूहमा १४ जना छन् । ‘हामी अहिले आलु उखेलेर बिक्री गरिरहेका छौं,’ गुरुङले भने । मर्स्याङ्दी गाउँपालिका ४, च्याम्चेमा हिमाली कृषक समूहमा आबद्ध २७ जना कृषक र वडा नम्बर ७, छिनखोलाको लालीगुराँस कृषक समूहमा आबद्ध ३५ जना कृषकले ८०/८० रोपनीमा आलु खेती गरेका छन् । आलु बिक्री गर्ने क्रममा रहेको किसानले बताएका छन् ।
‘आलु खेतीमा कृषकको लागत धेरै लाग्छ ।उत्पादन कम भएमा घाटा बेहोर्नुपर्छ । हामीले साना तथा मध्यमस्तरका कृषकलाई बीउ, प्राविधिक र उत्पादनमा सहयोग साथै बजारीकरणमा सहजीकरण गरेका छौं,’ उनले भने । आलु लगाउनुपूर्व नै खरिदकर्तासँग खरिदबिक्री सम्झौता गरी आलुलाई होलसेल मूल्यमा बिक्रीको व्यवस्था मिलाएको उनको भनाइ छ ।
समुद्री सतहदेखि ७ सय मिटर उचाइ क्षेत्रमा कात्तिक मंसिरतिर हिउँदे आलु लगाएर फागुन चैतमा भित्र्याइन्छ । माथिल्लो क्षेत्रमा पुस माघमा लगाएर वैशाख जेठमा भित्र्याइन्छ । किसानले उत्पादन गरेको आलुको बजार सुनिश्चित गरेपछि किसानलाई बिक्रीका लागि समस्या नभएको कृषि ज्ञान केन्द्रप्रमुख खतिवडाले बताए । बर्खे आलुसमेत गरी लमजुङमा यस वर्ष ७ सय ६९ रोपनीमा व्यावसायिक रूपमा आलु खेती गरिएको छ ।