विराटनगर— निस्दी गाउँपालिका–५ गल्धा ढुंगानाबेंसीस्थित अदुवा प्रशोधन उद्योगले सुकाएको अदुवाको चाना युरोप निकासी थालेको छ । यहाँस्थित सामाजिक उद्यमी महिला सहकारी संस्थाले गत वर्ष अर्ग्यानिक प्रमाणित गरेर जेठमा ४ हजार ४ सय ६० किलो अदुवाको प्रशोधित चाना युरोपका बजारमा पठाएको हो ।
संस्थाले गत वर्ष अर्ग्यानिक प्रमाणित गरेर ८ सय ५ किलो अदुवा नमुना परीक्षणका लागि युरोप पठाएको थियो । काठमाडौंस्थित एकोस्टा नेपालसँगको साझेदारीमा संस्थाले यस वर्ष प्रशोधित चाना जर्मनी पठाएको सहकारीकी अध्यक्ष ओममाया मश्राङ्गीले बताइन् ।
अदुवा संकलन, बिक्री र प्रशोधनको काम गर्दै आएको सहकारीअन्तर्गत ५ सय ४४ महिला सदस्य छन् । सहकारीले सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने सामग्री सहयोग जुटाएको छ । आगामी वर्ष काँचो अदुवा २० हजार र सुकाएको चाना १० हजार किलो विदेश पठाउने लक्ष्य लिएको अध्यक्ष मश्राङ्गीले जनाइन् ।
गत वर्ष भने सुकाएको चाना ७ सय ५० किलो विदेश पठाएको सहकारीकी व्यवस्थापक दिलमाया सारुले बताइन् । ‘गत वर्ष अर्ग्यानिक प्रमाणित भएर थोरै परिमाणमा अदुवा पठाउन सफल भइयो,’ उनले भनिन्, ‘यस वर्ष बनेका चाना पठाउन सफल भएका छौं ।’ मूल्य पनि अघिल्लो वर्षको तुलनामा राम्रो पाएको उनको भनाइ छ । गल्धा क्षेत्रको मात्र अर्ग्यानिक प्रमाणित भएकाले आगामी दिनमा नजिकका ज्यामिरे, मित्याल, झिरुवास र सहलकोटको अदुवा पनि अर्ग्यानिक प्रमाणितको पहल गर्ने संस्थाले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकार, संघीय र स्थानीय तहका साथै हेफर नेपालको सहयोगमा सहकारीमा प्रशोधन उद्योगका लागि झन्डै ८० लाख खर्च भइसकेको छ । यहाँ अदुवाको धूलो पनि निर्माण गरिएको छ । निस्दीमा उत्पादित अदुवा स्थानीय व्यापारीले खरिद गरी यसअघि बुटवल, भैरहवा, काठमाडौंदेखि छिमेकी देश भारतसम्म पुगेको थियो । ‘हाम्रो यहाँको अदुवा भारतीय बजारमा निर्भर थियो,’ सहकारीकी सञ्चालक नारायणी ढुंगानाले भनिन्, ‘अब भने युरोपको बजारमा पनि पुगेपछि किसानमा हौसला बढेको छ ।’
अदुवा राम्रो उत्पादन हुने वर्ष भारतमा बजार नपाउने र खेर फाल्नुपर्ने बाध्यता थियो । उत्पादन नभएको वर्ष बजार भाउ आउने भएकाले बजार स्थिर हुन सकेको थिएन । यहाँका प्रायः सबै वडामा अदुवा खेती गरिने निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । ‘गल्धाका अदुवा किसानलाई अब भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था भएन,’ उनले भने, ‘जसले गर्दा प्रशोधन गर्ने, चाना बनाउने र त्यसलाई विदेश निर्यात गर्नेतर्फ जोड दिनुपर्छ ।’
अदुवा प्रशोधनको काम यसअघि व्यक्ति र सहकारी संघले पनि गरेका हुन् । भैरवस्थानका अदुवा किसान तथा व्यापारी तुलबहादुर अधिकारीले विदेश पठाउने प्रयास पनि गरेका थिए । अस्थिर बजार र भाउ नपाएपछि प्रशोधन केन्द्रसमेत बन्द गरेको अधिकारीले जनाए । जिल्लामा रहेको अदुवा उत्पादक सहकारी संघले अदुवा बिक्री तथा बीउबिजन र औषधिको व्यवस्थापन मिलाउन नसक्दा किसान मर्कामा परेका हुन् । ‘गानो कुहिने रोगले धेरै सताउने गर्छ,’ अदुवा किसान लिलीकुमारी सोमै मगरेको गुनासो छ, ‘तर यसका लागि सहयोग पाउन मुस्किल छ ।’
तानसेन नगरपालिका–८ चुच्चेबारीमा प्रशोधनका लागि भौतिक संरचना निर्माण भए पनि मेसिनरी सामान, प्रशोधन गर्ने औजार अभावमा अदुवाको प्रवर्द्धन हुन सकेको छैन । प्रदेश सरकारको समन्वयमा राष्ट्रिय मसला बालीमार्फत ४० लाख खर्चेर भवन र मेसिनरी सामान प्राप्त भए पनि अलपत्र छ । पानी नजम्ने, रातो मलिलो माटो, पारिलो तर ओसिलो जग्गामा बढी उत्पादन लिन सकिने अदुवाको व्यापारका लागि बजारको राम्रा प्रबन्ध हुन सके पाल्पामा उत्पादन हुने अदुवाबाट राम्रो आर्थिक जोहो गर्न सकिने किसानको भनाइ छ ।
स्थानीय सीप र प्रविधिको प्रयोग गरेर निर्माण भएका अदुवा भण्डारण केन्द्रले अदुवा किसानलाई खेती गर्न थप हौसला मिले पनि अदुवा उत्पादन भने घट्दै गएको छ ।
अदुवा खन्ने सिजनमा भाउ नपाउने र भण्डारण गरेर राख्ने स्थान नहुँदा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता रहेको निस्दी गाउँपालिका–५ गल्धाकी किसान यमुना सारूले बताइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ पाल्पाले सहकारी, समूहमार्फत ८५ प्रतिशत अनुदानमा साना अदुवा भण्डारण केन्द्र स्थापना गरे पनि यसको प्रयोगमा आउन सकेको छैन ।
जिल्लाका सहलकोट, मित्याल, सिलुवालगायतका स्थानमा निर्माण भएका भण्डारण केन्द्रमा ३० टनभन्दा बढी अदुवा राख्न सकिने भण्डार बनेको एकाइले जनाएको छ । पाँच लाखको लागतमा कम्तीमा १० टन अदुवा भण्डारण गर्न सकिने केन्द्र निर्माण भएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले अदुवा खेतीका लागि पहल गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पनि अदुवा उत्पादन, बजार र यसको प्रवर्द्धनमा पछिल्लो समयमा ध्यान नदिएकाले उत्पादनमा ह्वात्तै घटेको छ । पछिल्लो समयमा २ सय ८० हेक्टरमा अदुवा खेती भए पनि कृषि ज्ञान केन्द्रको तथ्यांकमा भने १ हजार २ सय ६० हेक्टर क्षेत्रफलमा वार्षिक १३ हजार टन बढी अदुवा उत्पादन हुने उल्लेख छ ।