विराटनगर — श्रीलंकासँगको ट्वान्टी–२० विश्वकप खेलको तयारीमा नेपाली टोलीलाई वर्षा बाधक बनिरहेको छ । खेल श्रीलंकासँग बुधबार बिहान हुनेछ । तयारी क्रममा भएको वर्षाका कारण नेपालले दुई दिनदेखि मैदान गएर अभ्यास गर्न पाएको छैन ।
डालासमा गत मंगलबार नेदरल्यान्ड्ससँग विश्वकपमा आफ्नो पहिलो खेल खेलेर नेपाली टोली बुधबार नै फ्लोरिडा आइपुगेको थियो । बिहीबार नेपालले लडरहिलस्थित ब्रवर्ड क्रिकेट रंगशालाको नेट्समा दुई घण्टा अभ्यास गरेको थियो । तर, वर्षाका कारण शुक्रबार र शनिबार नेपाली टोलीले अभ्यास गर्न पाएन ।
अभ्यासका लागि शनिबार ब्रवर्ड रंगशाला पुगेको नेपाली टोली मेघगर्जनसहित वर्षा भएपछि अभ्यास नगरी होटल फर्किएको थियो । श्रीलंकासँग खेल्नुअघि नेपालसँग अभ्यासका लागि आइतबार र सोमबार दुई दिनमात्र प्रशिक्षण गर्ने अवसर छ । नेपाल र श्रीलंकाको खेल यहाँको स्थानीय समयअनुसार राति ७.३० बजे हुनेछ । त्यो दिन पनि वर्षाको पूर्वानुमान छ । तर, नेपाल र श्रीलंकाको खेल राति रहेकाले खेल प्रभावित नहुने सम्भावना छ ।
नेपाल र श्रीलंकाबीचको खेलमा पनि ठूलो संख्यामा दर्शक आउने अनुमान गरिएको छ । १५ हजारभन्दा बढी दर्शक क्षमता रहेको रंगशाला भरिभराउ हुने आँकलन गरिएको छ । बाल्टिमोरबाट खेल हेर्न आइरहेका रमेश भट्टले नेदरल्यान्ड्सविरुद्ध डालासमा खेलेको पहिलो खेलमा भन्दा फ्लोरिडामा नेपाली दर्शक उपस्थिति बढी हुने बताउँछन् । डालासमा रंगशालाभित्र उपस्थित ७ हजारमध्ये अधिकांश दर्शक नेपाली थिए ।
राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर राजन रायमाझीले नेपालले अमेरिकामा आएर ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्नु आफूहरूका लागि गर्वको विषय भएको बताए । ‘एउटा खेलाडी भएको हिसाबमा भन्नुपर्दा नेपालले विश्वकप खेल्नु हाम्रा लागि ठूलो सफलता हो,’ १८ वर्षदेखि फ्लोरिडामा रहेका रायमाझीले भने, ‘अमेरिकामा जन्मिएर हुर्किएका हामीपछिको पुस्तालाई आफ्नो देशको परिचय गराउन ट्वान्टी–२० विश्वकप खेलिरहेको नेपाली क्रिकेट टोली राम्रो माध्यम बनेको छ ।’
नेपालले सन् १९९९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फुटबल प्रतिस्पर्धामा रजत पदक जित्दाका सदस्य रायमाझी पनि श्रीलंकासँगको खेलमा ठूलो संख्यामा नेपाली दर्शक उपस्थित हुने सम्भावना रहेको देख्छन् ।
नेपाली टोली पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंका पहिलो दुवै खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भइसकेको छ । सन् २०१४ को ट्वान्टी–२० विश्वकप समूह चरणबाटै बाहिरिने स्थितिमा पुगिसकेको छ भने नेपाललाई पनि सुपर ‘एट’ मा पुग्ने आस कायमै राख्न श्रीलंकाविरुद्धको खेल जित्नै अवस्थामा छ ।
ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली एक महिना अगाडि नै फ्लोरिडा आएको थियो । यहाँ एक साता बिताएपछि नेपाली टोली थप प्रशिक्षणका लागि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट लागेको थियो । त्यहाँबाट नेपाली टोली अमेरिकाका ह्युस्टन पुगेर एक साता प्रशिक्षण गरी ट्वान्टी–२० विश्वकप क्रिकेटको पहिलो खेल खेल्न डालास पुगेको थियो । फ्लोरिडामा आएर एक साता बसेर गएकाले नेपाललाई कन्डिसन बुझ्न डालासजस्तो कठिन नहुनसक्छ ।
श्रीलंकासँग खेलेपछि नेपाली टोली समूह चरणको बाँकी दुई खेल खेल्न वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुग्नेछ । नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा समूह चरणको अन्तिम खेल खेल्नेछ । श्रीलंकाको समूह चरणको अन्तिम खेल सेन्ट लुसियामा नेदरल्यान्ड्ससँग जुन १६ मा हुनेछ ।