विश्वकपमा नेपालको दोस्रो पाइला

Logo
Red FM मंगलबार, जेठ २२, २०८१

(डालास, अमेरिका) — १० वर्षको व्यग्र पर्खाइपछि नेपालले विश्व क्रिकेटको मञ्चमा आफूलाई पुनः उभ्याएको छ । पहिलो खेल मंगलबार नेदरल्यान्डसँग खेल्दै नवौं संस्करणको पुरुषतर्फको आईसीसी ट्वान्टी–२० विश्वकपको ढोका उघार्दै छ ।

विश्वकपमा नेपालको दोस्रो पाइला

काठमाडौंमा गत कात्तिकमा भएको एसिया छनोटमा नेपालले यूएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपाल र ओमान एसिया क्षेत्रबाट विश्वकपका लागि छानिएका हुन् । नेपालले २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

नेपालले डालासमा मंगलबार खेलेपछि फ्लोरिडामा श्रीलंकासँग जुन ११, वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग समूह चरणका खेलहरू खेल्नेछ । नेपाल समावेश समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ सरह मानिएको छ । नेपालले श्रीलंका र दक्षिण अफ्रिकासँग भने पहिलो पटक खेल्न लागेको हो ।

यस ट्वान्टी–२० वर्ल्डकपका सबैभन्दा कम उमेरका क्याप्टेन नेपालका रोहित पौडेल (२१ वर्ष २७६ दिन)

एक महिनादेखि अमेरिका र वेस्ट इन्डिजमा रहेर नेपालले तयारी गरिरहेको थियो । मे पहिलो साता फ्लोरिडा आएको नेपालले त्यसपछि वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा दुई अभ्यास खेल खेलेको थियो । त्यसपछि अमेरिकाको ह्युस्टनमा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।

पछिल्ला १० दिनयता नेपाली टोली डालासमा छ । क्यानडासँगको अभ्यास खेलमा नेपाली टोली थकित देखिएको थियो भने प्रदर्शन पनि सन्तोषजनक हुन सकेको थिएन । तर प्रशिक्षक मोन्टी देसाईले भने नेपाल विश्वकपका लागि तयार भएको बताए । ‘हामीले यो एक महिनाको अवधिमा समय मिलाउन र यहाँको हावापानी र अवस्थासँग भिज्ने राम्रो मौका पायौं,’ प्रशिक्षक मोन्टीले भने, ‘नेदरल्यान्ड्ससँगको पहिलो खेलका लागि तयारी अवस्थामा छौं । यो दिनलाई हामी सबैले लामो समयदेखि पर्खिरहेका हौं ।’

नेपालका कप्तान रोहितकुमार पौडेलले विश्वकपमा पहिलो खेल नजिकै जाँदा उत्साह पनि बढ्दै गएको सुनाए । ‘पछिल्लो एक महिनादेखि हामी यतै आएर अभ्यास गरिरहेका छौं, यो अवधिमा हामीले यहाँको कन्डिसन राम्रोसँग बुझ्न पाएका छौं । विश्वकपअघि यो खाले प्रशिक्षण निकै जरुरी थियो,’ उनले थपे, ‘यसले हामीलाई थप एक्सपोज हुन सघाएको छ । हामीलाई विश्वकपका लागि तयार बनाएको छ ।’ कप्तान पौडेलले आफूहरूले उत्कृष्ट क्रिकेट खेलेर देश र फ्यानलाई गर्व गर्न सक्ने बनाउने विश्वास व्यक्त गरे । पहिलो पटक विश्वकपमा कप्तानी पारी खेल्न लागेका पौडेल ट्वान्टी–२० विश्वकपमा सबैभन्दा कम उमेरको कप्तानको रेकर्ड पनि रहनेछ । त्यसैगरी, नेपालकै गुल्सन झा सबैभन्दा कम उमेरका खेलाडी हुनेछन् ।

खेलाडीमध्ये सबैभन्दा कम उमेरका नेपालका गुलशन झा (१८ वर्ष १०८ दिन)

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको यो संस्करण सहभागी राष्ट्र र पुरस्कार राशिका कारण पनि अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले चार राष्ट्र थप्दै यस संस्करणदेखि २० राष्ट्रको पाँच समूहमा प्रतिस्पर्धाको नयाँ फर्म्याट बनाएको हो । त्यसमध्ये ९ टोली एसोसिएट राष्ट्र छन् । त्यसमध्ये आयोजक अमेरिकासहित युगान्डा र क्यानडाले पहिलो पटक विश्वकपमा प्रतिस्पर्धा गरिरहेका छन् । आईसीसीका प्रमुख कार्यकारी अधिकृत जिओफ एलार्डिसले विविध कारणले यो अहिलेसम्मकै ऐतिहासिक इभेन्ट भएको जनाएका छन् ।

एक महिना चल्ने विश्वकपको आयोजना अमेरिकाका लागि पहिलो पटक हो । सन् २०२१ मा यूएई र ओमानमा भएयता पहिलो पटक ट्वान्टी–२० विश्वकप दुई राष्ट्रमा हुन लागेको छ । खेलहरू अमेरिकाको डालास, फ्लोरिडा र न्युयोर्कमा हुनेछ । अमेरिका र वेस्ट इन्डिजलाई आयोजकको हिसाबमा विश्वकपमा सोझै प्रवेश दिइएको थियो ।

वेस्ट इन्डिज दुई पटकको विजेता हो भने अमेरिका पहिलो पटक विश्वकपमा खेल्न लागेको हो । अमेरिका र वेस्ट इन्डिजको ९ मैदानमा हुने प्रतियोगिता जुन २८ सम्म चल्नेछ । अमेरिकामा १२ र वेस्ट इन्डिजमा ४३ खेल हुनेछ ।

टेस्ट राष्ट्र जिम्बावेले छनोट चरणमा नामिबिया र युगान्डाको चुनौतीलाई पार गर्न सकेन । सन् २०२२ मा अस्ट्रेलियामा भएको ट्वान्टी–२० विश्वकपमा शीर्ष ८ भित्र रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स यसपटकको विश्वकपका लागि सोझै छनोट भएका राष्ट्र हुन् ।

यसबाहेक आईसीसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा माथिल्लो स्थानमा रहेका राष्ट्रबाट अफगानिस्तान र बंगलादेश विश्वकपलाई छानिएको थियो । अन्य ८ टोली क्षेत्रीय छनोटबाट छानिएका थिए । युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड, एसियाबाट ओमान र नेपाल, अफ्रिकाबाट नामिबिया र युगान्डा, इस्ट एसिया प्यासिफिक क्षेत्रबाट पपुवा न्युगिनी तथा अमेरिकी क्षेत्रबाट क्यानडा विश्वकपका लागि छानिएका हुन् ।

पुरस्कार रकममा दोब्बर वृद्धि

नवौं संस्करणको ट्वान्टी–२० विश्वकप विजेताले कम्तीमा २४ लाख ५० हजार डलर पुरस्कार पाउनेछ । ट्वान्टी–२० विश्वकपको इतिहासमा यो अहिलेसम्मकै धेरै हो । उपविजेताले कम्तीमा १२ लाख ८० डलर पाउनेछ । अघिल्लो संस्करणको भन्दा झन्डै दोब्बर रकम वृद्धि गर्दै कुल १ करोड १२ लाख ५० हजार पुरस्कार राशी राखिएको छ । पछिल्लो संस्करणमा कुल पुरस्कार राशि ५६ लाख डलर मात्र रहेको थियो ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही ७ लाख ८७ हजार ५ सय डलर पाउनेछन् । सुपर ‘एट’ मा रोकिने प्रत्येक चार टोलीको भागमा ३ लाख ८२ हजार ५ सय पर्नेछ । नवौंदेखि १२ हुने टोलीले २ लाख ४७ हजार ५ सय डलर पाउनेछन् । १३ देखि २० औं स्थानमा हुने टोलीले २ लाख २५ हजार पाउनेछन् । सेमिफाइनल र फाइनलबाहेक प्रत्येक प्रतिस्पर्धी टोलीले खेलको दिन ३१ हजार १ सय ५४ डलर पाउनेछ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356