विराटनगर— सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालिएको छ । यही जेठ १३ देखि दुई सिफ्टमा चौबिसै घण्टा काम भइरहेको आयोजनाले जनाएको छ । कुनै समस्या नआए अबको चार महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।
उनका अनुसार मुख्य सुरुङ १ सय ३५ र क्रस प्यासेज ५९ गरी १ सय ९४ मिटर खनी सकिएको छ । ‘मेसिनले मात्र खन्दा केही ढिलाइ भएको थियो, अहिले विस्फोटक पदार्थ प्रयोग गरिएको छ,’ उनले भने, ‘अब दैनिक ९ मिटर खन्ने लक्ष्य छ ।’ उनका अनुसार दैनिक कम्तीमा ७ मिटर खन्न समस्या हुने छैन । ‘विस्फोटक पदार्थ ल्याएर काम गर्ने स्वीकृति पाउन केही समय लाग्यो,’ शाक्यले भने, ‘अहिले चीनबाट ४५ टन विस्फोटक पदार्थ ल्याएर काम भइरहेको छ ।’
यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि हुनेछ । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । २ सय ४३ मिटर दूरीका तीन वटा क्रस प्यासेज बन्ने छन् । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । सुरुङ र क्रस प्यासेजसहितको दूरी १ हजार ५ सय ७३ मिटर छ ।
पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । निर्माण थालेको २६ महिनामा भौतिक प्रगति भने १२ प्रतिशत छ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । कम्पनीले सुरुमा निर्माणमा ढिलाइ गर्दा आयोजनाले गति लिन सकेको थिएन । सुरुमा रुख काट्न नपाएको भन्दै निर्माण कम्पनीले ९ महिना म्याद थपको माग गरेको छ । यसबारे कुनै निर्णय नभएको आयोजनाले जनाएको छ ।
पहिला सुरुङ खन्ने काम सकेर त्यहाँबाट गाडी पास गर्ने व्यवस्था मिलाएपछि ‘रक सेट’ बनाइने शाक्यले बताए । उक्त रक सेटको दूरी ७ सय ८० मिटर छ । ‘सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइनेछ,’ उनले भने, ‘त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको हो ।’ ‘ब्रेक थ्रु’ भएको ६ महिनाभित्र सुरुङबाट गाडी चलाउने योजना आयोजनाको छ ।
यस्तै, निर्माण थालेको ५३ महिनापछि गत वैशाख ३ मा नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङमार्फत सवारीसाधन सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किमि छ । अहिले फ्लाभाइओभर, सडक निर्माण र सुरुङ फिनिसिङको काम भइरहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए ।
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत लेनडाँडा र धेद्रे सुरुङको ठेक्का भएको तीन वर्षपछि जेठ ४ र ११ मा ‘ब्रेक थ्रु’ गरिएको छ । १ हजार ४ सय ३० मिटर दूरीको लेनडाँडा सुरुङ काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १ हजार ६ सय ५३ मिटरको सुरुङ हो । फास्ट ट्र्याकमा ६ वटा सुरुङ निर्माण गरिने छ । जसमा तीनवटा सुरुङ निर्माणधिन रहेकोमा अब महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ हुन बाँकी छ । असारभित्र ‘ब्रेक थ्रु’ गर्ने तयारीमा रहेको नेपाली सेनाले जनाएको छ । फास्ट ट्र्याकमै पर्ने २ हजार २ सय ५० मिटरको चन्द्राम भीर सुरुङ, १ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङको ठेक्का भएर डिजाइनको चरणमा छन् ।