डालास, अमेरिका — नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको दोस्रो अभ्यास खेलमा बिहीबार अमेरिकाको सामना गर्दैछ । विश्वकपअगाडि नेपालको यो अन्तिम अभ्यास खेल हो । नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेलेर विश्वकपको यात्रा प्रारम्भ गर्दैछ ।
अमेरिकासँगको खेलका लागि नेपालले बुधबार यहाँस्थित मुस्ताङ क्रिकेट एकेडेमीमा गएर इन्डोर प्रशिक्षण गरेको थियो । ‘अप्सनल’ रहेको यस प्रशिक्षणमा ९ खेलाडी समावेश थिए । दीपेन्द्रसिंह ऐरी प्रशिक्षणमा फर्किएपछि नेपाली टोलीले ठूलो राहत महसुस गरेको छ ।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोली रहँदा दीपेन्द्रलाई एंकलमा चोट लागेको थियो । त्यसयता उनी मैदानमा देखिएका थिएनन । नेपाली टोली अमेरिका आएपछि ह्युस्टनमा भएको अभ्यास खेल पनि दीपेन्द्रले चोटका कारण खेलेका थिएनन् ।
दीपेन्द्रले बुधबार मुस्ताङ क्रिकेट एकेडेमीमा प्रशिक्षण गरेपछि नेपालका कप्तान रोहित पौडेलले भने, ‘दीपेन्द्र आज प्रशिक्षणमा फर्किनु भएको छ, राम्रो लयमा देखिनु भएको छ, त्यसैले उहाँले अमेरिकासँगको खेल खेल्नु हुनेछ ।’
दीपेन्द्र र रोहितसहित आसिफ शेख, अनिल साह, कुशल मल्ल र सन्दीप जोराले नेटमा राम्रो समय बिताएका थिए । ओपनिङ ब्याटर कुशल भुर्तेलसहित, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा र सागर ढकाल रेस्टमा रहेका कारण इन्डोर प्रशिक्षणमा आएका थिएनन ।
नेपाल दुई दिनअघि भएको पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो । डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा १ सय ८४ रनको लक्ष्य लिएर आएको नेपाल १९.३ ओभरमा १ सय २० रनमै अलआउट भएको थियो । थकित देखिएको नेपाली टोलीले क्यानडाविरुद्ध निकै कमजोर प्रदर्शन गरेको थियो ।
‘क्यानडासँगको खेलमा पराजित भए पनि हामी अमेरिकासँगको खेलका लागि तयार छौं । त्यही हिसाबमा हामीले तयार पनि गरिरहेका छौं । पावर प्लेको ब्याटिङमा हामीले संघर्ष गर्नु परेको छ र विकेट पनि गुमाइरहेका छौं, रन पनि बनिरहेको छैन,’ कप्तान रोहितले नेट सेसनपछि भने, ‘क्यानडा र अमेरिका दुबै राम्रा टोली हुन् । यो दुई टोलीसँगको अभ्यास खेलले हामी पनि विश्वकपमा राम्रो गर्छौ भन्ने विश्वास मलाई छ ।’
क्यानडा र अमेरिकासँग नेपालले जुन मैदानमा अभ्यास खेल खेलेको छ, त्यही मैदानमा नेदरल्यान्ड्ससँग विश्वकपको पहिलो खेल खेल्नु पर्ने भएकाले नेपालले त्यसको फाइदा लिनु पर्ने रोहित बताउँछन् । अमेरिकाको विश्वकपमा यो पहिलो अभ्यास खेल हुनेछ ।
मंगलबार टोलीको बंगलादेशसँगको पहिलो अभ्यास खेल वर्षाका कारण एक बल पनि फाल्न नपाई रद्द भएको थियो । अमेरिकाले त्यही बंगलादेशलाई हृयुस्टनमा तीन ट्वान्टी-२० खेलको शृंखलाको पहिलो दुई खेलमा पराजित गर्दै एतिहासिक नतिजा निकालेको थियो । अमेरिकाले जुन १ मा क्यानडाविरुद्ध खेलेर विश्वकपको यात्रा प्रारम्भ गर्दैछ । यो खेल यस विश्वकपको पहिलो खेल पनि हो ।