विराटनगर— सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग तथा प्रेस स्वतन्त्रताको पक्षमा नेपाल विद्यार्थी संघ र तरुण दलले शनिबार साँझ मसाल जुलुस निकालेका छन् । कांग्रेसले आइतबार काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।
सहकारी ठगीमा संलग्न लामिछानेमाथि छानबिनको माग उठाएर कांग्रेसले साढे दुई महिनादेखि संसदीय छानबिनको माग उठाउँदै आए पनि सरकार गम्भीर नबनेपछि सडकबाट समेत दबाब दिने उद्देश्यले कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्न लागेको हो ।
तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाको संयोजकत्वमा गोगंबुमा मसाल जुलुस निकालिएको थियो । नेविसंघका सदस्य बिजयी ढुंगानाका अनुसार सहकारीको बचत अपचलन गर्ने उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन समिति तत्काल गठन गर्न र प्रेस स्वतन्त्रताको पक्षमा नाराबाजी गर्दै मसाल जुलुस निकालिएको हो ।