मई ८ को दिन भारतको दक्षिणी राज्य तेलङ्गानाको करिमनगर सहरमा चुनावी सभालाई सम्बोधित गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘चुनावको घोषणालगत्तै राहुल गान्धीले अम्बानी–अडानीलाई गाली गर्न बन्द गरे । मेरो प्रश्न हो, शहजादा (राहुल गान्धी) ले अम्बानी–अडानीबाट कति माल पाएका छन् ? दुवैले कति कालो धन उनलाई पठाएका छन् ? टेम्पोमा नोटका भारी कांग्रेसलाई आएको छ कि ?’ मोदीले थप सोधे, ‘उहाँहरूमाझ कस्तो लेनदेन भएको छ ? पक्कै दालमा काला भनेजस्तो अवस्था छ किनकि पाँच वर्षसम्म अम्बानी–अडानीलाई गाली गरिरहेका तिमी रातारात चुप भएका छौ । यसको एउटै अर्थ हो, टेम्पोभरि चोरीको माल तिमीले पाएका छौ । देशलाई जवाफ दिनैपर्छ ।’
मोदीको यस अभिव्यक्तिले २०२४ को उदास, निराश र आसक्त चुनावलाई तरंगित पार्यो, जुन ४६ दिनमा सात चरणमा सम्पन्न हुने भारतीय आम निर्वाचनको तेस्रो चरण पूरा भइसक्दा पनि सुस्त गतिमा चलिरहेको थियो । तेस्रो चरणको प्रचार–अभियानलाई कभर गर्न उत्तर प्रदेशका कतिपय यात्रामा मैले गाउँ र सहरका जनतामा चुनावप्रति उदासीनता देखेँ ।
सबै ठाउँमा एक प्रकारको ‘प्यासिभ बाइकट’ स्थिति पाएँ । चुनाव आयोग र सरकारी मन्त्रालयको व्यापक प्रचारका बावजुद तीन चरणमा मतदानको प्रतिशत पहिलेभन्दा तल खसेको छ । विशुद्ध गणितीय हिसाबले कम भोटिङको लाभ सत्तारूढ पार्टीलाई प्राप्त हुने गर्छ तर, बीजेपी र उसका सहयोगी पार्टीले कम मतदानलाई सरकारविरोधी लहर मानिरहेका छन् । जब मैले आफूले देखेको अवस्थाबारे उत्तर प्रदेशका एक पत्रकारलाई सोधें, उनको भनाइ थियो, ‘यस पटक बीजेपीका ग्रासरूटका कार्यकर्तामा मतदातालाई मतदान बुथ लैजाने उत्साह देखिएको छैन । कारण हो, मोदी–अमित शाहले विभिन्न दलका नेतालाई पार्टी प्रवेश गराउनु र टिकट दिनु । उनीहरू मोदी–अमित शाहबाट खुसी छैनन् ।’
यसैले हो कि तेस्रो चरणको चुनावसम्म आइपुग्दा मोदीको अभिव्यक्ति फेरियो । उनी आफ्नो पुरानो अन्दाजमा, ‘जेनोफोभिक’ देखिए । मोदीले विकासका दाबीलाई आफ्ना चुनावी सम्बोधनबाट हटाए र चारित्रिक शैलीमा खुला मुस्लिमविरोधी भाषण गर्न थाले । कांग्रेसलाई लक्षित गर्दै उनले भने– कांग्रेस सत्तामा आए हिन्दु महिलाको मंगलसूत्र खोसेर मुस्लिमलाई दिनेछ । उनले कांग्रेसमाथि भारतीय क्रिकेट टिममा मुस्लिमलाई सामेल गर्ने आरोपसमेत लगाए । कांग्रेसले दलित–आदिवासीहरूको आरक्षण मुसलमानलाई दिनेछ भने ।
पछिल्ला चुनावविपरीत मोदीका यी अभिव्यक्तिले उनको पार्टी र स्वयंले चाहेको हलचल पैदा गर्न सकेन । यसको एक कारण हो चुनावमा विपक्षी दलले संविधानलाई केन्द्रीय मुद्दा बनाउनु । मोदी सत्तामा फेरि आए बीजेपीले संविधान फेर्ने छ भन्ने कुरा विपक्षका नेताले
आफ्ना सबै र्यालीमा निरन्तर दोहोर्याइरहेका छन् । संविधानको प्रश्न भारतीय चुनावको इतिहासमै पहिलो पटक यति महत्त्वपूर्ण बनेको छ । यसै मुद्दाले मोदी र बीजेपीलाई रक्षात्मक बनाएको छ । मैले स्वयं कांग्रेस र समाजवादी पार्टीका चुनाव कार्यालयमा संविधान निर्माता बीआर अम्बेडकरका ठुल्ठूला फोटो र पोस्टर देखेँ, जुन पहिले हुन्थेनन् ।
‘मोदीलाई समात्नका लागि एउटा खुटी चाहिन्छ, जुन उनलाई अझै मिलेको छैन,’ एक वरिष्ठ सम्पादकले मलाई बुझाए । मोदीलाई सायद पहिलो पटक चुनावमा मुद्दाको खडेरी छ । आफ्ना विरोधीको कुरालाई ट्वीस्ट गरेर मुद्दा बनाउनमा सिपालु मोदी विपक्षी दलको गल्तीको पर्खाइमा छन् । तर, पटकपटक हार खाएको विपक्षीले सचेत भई उनलाई मुद्दा नै दिएका छैनन् । यसअघि सम्पन्न पाँच राज्यका चुनावभन्दा पहिला विपक्षी दलको इन्डिया गठबन्धनका एक नेता उदयनिधि स्टालिनले, जुन तमिलनाडु सरकारमा मन्त्रीसमेत हुन्, भनेका थिए, ‘मच्छर, डेंगु, मलेरिया, कोरोनाजस्तै सनातन धर्मलाई समेत मेटाउनुपर्छ ।’ उनको टिप्पणीले मोदी र बीजेपीलाई विपक्षमाथि हमला गर्ने र हिन्दु मतदातालाई लामबन्द गर्ने अवसर मिलेको थियो । अवस्था यो भयो कि जित्ने सम्भावना रहेका तीन राज्यहरू– मध्यप्रदेश, छत्तीसगढ र राजस्थान– कांग्रेसले हार्यो । तर, यस चुनावमा यस्ता अभिव्यक्तिको जोखिम विपक्षले उठाएका छैनन् ।
निर्वाचन बन्डबारे आएको सर्वोच्च अदालतको निर्णयले विपक्षलाई मोदीमाथि भ्रष्टाचारको आरोप लगाउने ठूलो मौका दिएको छ । भारतीय राजनीतिमा भ्रष्टाचारको मुद्दा ‘ताकतवर’ मुद्दा हो । यस मुद्दाको अगाडि जाति, धर्म र विकास जस्ता मुद्दा टिक्दैनन् । यस मुद्दाले इन्दिरा गान्धीको सत्ता गएको थियो । बोफोर्स मामिलाले गर्दा १९८४ को चुनावमा ४१४ सिट ल्याउने राजीव गान्धी अर्को चुनावमा अल्पमतमा आए । अटल बिहारी बाजपेयीको सरकार कफन घोटाला र पेट्रोल पम्प घोटालाले गर्दा गयो र पछि मनमोहन सिंहको दोस्रो कार्यकालमा कमनवेल्थ गेम्स घोटाला र टुजी स्क्यामले गर्दा कांग्रेस इतिहासकै सबभन्दा कम सिटमा समेटियो ।
भारतीय मतदाताको यसै मानसिकता बुझेर मोदीले निरन्तर विपक्षी नेताको भ्रष्टाचारलाई मुद्दा बनाइरहे । अरविन्द केजरीवाल र हेमन्त सोरेन जस्ता मुख्यमन्त्रीहरू समेत थुप्रै नेतालाई जेल हाले । तर चुनाव बन्डको मामिलामा उनी घेरिए । चुनावभन्दा ठीक पहिला सर्वोच्च अदालतको निर्णयले मोदी सरकारको भ्रष्टाचार विरोधी दाबीलाई रद्द गर्यो । कतिपय अर्थशास्त्रीले हालमा वित्तमन्त्री निर्मला सीतारमणका पति परकाला प्रभाकर समेतले चुनाव बन्डलाई भारतीय इतिहासकै सबभन्दा ठूलो भ्रष्टाचार बताएका छन् । यस अतिरिक्त कर्नाटकका नेता र पूर्वप्रधानमन्त्री एचडी देवेगोडाका नाति प्रज्वल रेवन्नामाथि यौन उत्पीडन, हजारौं सेक्स भिडियो बनाउने, धम्काउने आरोपले पनि मोदी र बीजेपीलाई रक्षात्मक बनाएको छ । कर्नाटकमा देवेगोडाको जेडीएस पार्टी र बीजेपीबीच चुनावी गठबन्धन छ ।
सम्भवतः यी कारणले तेस्रो चरणको मतदानपछि चुनावको एजेन्डालाई फेरि आफ्नो पक्षमा ल्याउन छटपटाइरहेका मोदीले आफ्नै कारोबारी मित्रहरू– अम्बानी र अडानीलाई निशाना बनाउन बाध्य भए । विश्वकै सबभन्दा धनी कारोबारीमाथि मोदीको हमला एकैपटक हो वा अरू केही, यो त आगामी चौथो चरणपछि थाहा हुनेछ । जे होस्, मोदीको यस अभिव्यक्तिले तीन चरणसम्मको चुनावमा छाएको उदासीनता, एकसरता र थकाइलाई ठग्दै, चुनावलाई एक हदसम्म तरंगित पारेको छ । तर पनि धरातलमा मतदातामा मोदीको आकर्षण कम भएको स्थितिलाई सहज देख्न सकिन्छ । साथै, यस चुनावबाट राम मन्दिर, कश्मीरको अनुच्छेद ३७०, सीएए जस्ता मुद्दाहरू गायब छन् ।
मोदीप्रतिको उदासीनताले भारतीय चुनावको परिणाममाथि कति असर पर्ने हो, यो ४ जुनको दिन पत्ता लागिहाल्नेछ । तर मोदीको राजनीतिक आकर्षणको अवसान सुरु भएको कुराचाहिँ निश्चित रूपमा यस चुनावले देखाएको छ ।