विराटनगर — लामो खडेरीपछि शनिवार मध्यराति परेको वर्षाले अचानक बाढी आएपछि बुटवल अस्तब्यस्त बनेको छ । तिनाउ नदीमा आएको बाढीले ल्याएको हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँडडुलमै समस्या भएको छ ।
बुटवलको मध्ये बजारमै बाढी पसेपछि दर्जनौं घर, कार्यालय, पसल र विद्यालयमा क्षति पुर्याएको छ । सडक डिभिजन कार्यालयका अनुसार शनिबार मध्यरातमा आएको बाढी तिनाउ खोलाबाट बुटवल र तिलोत्तमामा सिँचाइका लागि लागिएका नहर हुँदै बजार क्षेत्रमा पसेको हो ।
बाढीले बुटवलको मगरघाटदेखि तिलोत्तमाको अमुवा पुलसम्म दुवै किनारमा निर्माण भइरहेको तिनाउ करिडोरको झण्डै एक करोडको निर्माण सामग्री समेत बगाएको छ । करिडोरमा लामा बानिया जेभी कम्पनीले निर्माणको काम गरिरहेको छ ।
सडक डिभिजन कार्यालयका इन्जिनियर महेश्वर लम्सालका अनुसार अचानक आएको बाढीले करिडोरमा भर्नका लागि ठिक्क पारेको एक हजार बढी ग्याबिन जाली, सिमेन्ट र निर्माण सामग्री पनि बगाएको छ । ‘केही निर्माण भएको काम पनि बगाएको छ,’ उनले भने, ‘खोला सुख्खा भएका कारण किनारमै राखिएको ग्याबिन जालीसहितको निर्माण सामग्री पनि बगेको छ ।’
तिनाउ नदीको दुवै किनारबाट सडक निर्माण गर्ने गरी झण्डै ९ किलोमिटर खण्डमा भ्याटबाहेक ८८ करोड लागतमा काम भइरहेको छ । बुटवल क्षेत्रको ढल र नाली समयमै व्यवस्थित एवं सरसफाई नहुँदा मध्यरातमा आएको बाढी नाली र नहर हुँदै मुख्यबजार, विद्यालय र उद्योगहरुमा पसेको हो ।
त्यस्तै बाढीले बुटवलस्थित राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालय डुबानमा परेको छ । रात २ बजेदेखि कार्यलय छेउको नाली भरिएर पानी कार्यालयमा प्रवेश गरेपछि कार्यालयका फर्निचरसहितका सामग्री डुवानमा परेको राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बताए ।
‘राति दुई बजेपछि पश्चिम नेपाल बस व्यवसायी प्रालीको कार्यालय तर्फबाट पसेको भलले निकास नपाएपछि रासस कार्यालय डुबानमा परेको हो,’ उनले भने, ‘डुबानबाट कार्यलयका फर्निचर, कम्प्यूटर, ल्यापटप, प्रिन्टर लगायतका सामाग्री नष्ट भएका छन्,’ उनले भने, ‘निवास तर्फ पनि क्षति पुर्याएको छ ।’ नाली भरिएर डुबान परेपछि आफुहरु कान्ति माविको भवनमा रात विताएको उनले बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मध्यरातमा तिनाउ खोला बढेपछि नहरबाट बजार प्रवेश गरेको बाढीले फुलबारी टोल, अमरपथ, पश्चिम नेपाल बस व्यवसायी प्रालिको कार्यालय, रुपन्देही उद्योग व्यापार संघ, रासस कार्यालय हुँदै बजार क्षेत्रका दर्जनौं घर र विद्यालयमा पनि क्षति पुर्याएको बताए ।
‘लामो समयदेखि पानी नपरेको अवस्थामा बजार क्षेत्रका नालीहरुमा फोहोर थुप्रिएको रहेछ,’ उनले भने, ‘अचानक आएको बाढीलाई नालीले थेग्न नसक्दा धेरैतिर नोक्सान गराएको छ ।’ लामो समयदेखि टोलविकास संस्थाहरुले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान नचलाएका कारण क्षति भएको उनले बताए ।
जल तथा मौसम विज्ञान विभागले रूपन्देहीको भैरहवा विमानस्थल, लुम्बिनी, तिलोत्तमालगायतका क्षेत्रमा वर्षा मापन केन्द्र राखेको छ । शनिबार राति तिलोत्तमामा १२ घण्टाको अवधिमा सबैभन्दा बढी ५५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै लुम्बिनी १२ र भैरहवामा १० मिलिमिटर वर्षा मापन भएको देखिन्छ ।
‘प्रि–मनसुन अवधिमा कुनै एक ठाउँमा बढी पानी पर्ने र नजिकैको अर्को ठाउँमा कम पानी पर्ने हुन्छ,’ विभागका भैरहवा कार्यालय प्रमुख एवं वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘पाल्पाको दोभान र त्यस आसपास क्षेत्रमा पनि भारी वर्षा भएका कारण बुटवल डुबानमा परेको हुन सक्छ, त्यस क्षेत्रमा मापन केन्द्र नभएकाले कति वर्षा भयो भन्न सकिएन् ।’ ठूलो बाढी आउने गरी वर्षा नभए पनि पानीले सहज निकास नपाउँदा बाढीमा परिणत भएको उनले बताए ।