नेपाल उडानमा फर्किन खोज्दै एयर एसिया

Logo
Red FM मंगलबार, चैत्र २७, २०८०

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउनुपर्ने २७ करोड हाराहारी बक्यौता नबुझाई ‘बेपत्ता’ भएको मलेसियाको एयर एसिया नेपाल उडान पुनः सुरु गर्न इच्छुक देखिएको छ । एयर एसियाले नेपाली (जीएसए) एजेन्ट कम्पनीमार्फत नेपाल उडान पुनः सुरु गर्न रुचि राख्दै बक्यौता बुझाउने भएको हो ।

एयर एसियाले ०७५ असोजअघि बुझाउनुपर्ने २७ करोड हाराहारी बक्यौतामध्ये फ्रेब्रुअरी–२८ र मार्च–२८ तारिखमा १ करोड १५ लाखका दरले दुई किस्ता रकम प्राधिकरणलाई बुझाइसकेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । ‘नियमित उडानका लागि औपचारिक अनुमति मागिसकेको छैन,’ उनले भने, ‘बैंक ग्यारेन्टीसहित बक्यौता बझाउन आएकाले मलेसिया–नेपाल उडान पुनः सुरु गर्न खोजेको देखिन्छ ।’

एयर एसियाले हरेक अंग्रेजी महिनाको २८ तारिखमा प्राधिकरणको खातामा बक्यौता बुझाउने भनेको छ । यसरी उसले साँवा र ब्याज गरी २७ करोड बुझाउन कुल २४ वटा किस्ता बुझाउनुपर्नेछ ।

प्राधिकरणका अनुसार, एयर एसियालाई बक्यौता बुझाउन काठमाडौंमा रहेको युनिर्भसल टुर्स एन्ड ट्राभल्स प्रालिले सघाइरहेको छ । ‘युनिर्भसलका तर्फबाट सञ्चालक परासर प्रसाईंले एयर एसियाको बक्यौता बुझाउन सघाएका छन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘तर प्राधिकरणले औपचारिक रूपमा एयर एसियालाई मात्रै चिन्दछ । कानुनअनुसार एजेन्ट कम्पनीहरूलाई प्राधिकरणले आधिकारिक मान्दैन ।’

यसअघि एयर एसियाको बक्यौता विवादमा व्यवसायी हरिमान लामाको इन्सेन्टिभ ग्रुप अफ कम्पनी जोडिएको थियो । उक्त कम्पनीसँग विवाद लम्बिँदै गएपछि एयर एसियाले ०६९ देखि ०७५ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल पर्यटन बोर्डलाई गरी करिब ४८ करोड रुपैयाँ नबुझाई नेपालको उडान बन्द गरेको थियो ।

मलेसियाका लागि जाने नेपाली कामदारलाई लक्ष्य गर्दै यसले ०६९ असारदेखि क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर रुटमा सस्तो भाडादरमा ३ सय ७७ यात्रु क्षमताका वाइडबडी विमानबाट सेवा सुरु गरेको थियो ।

यस क्रममा यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ०६९ देखि ०७५ सम्म अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, भाडासहितको रकम बुझाउनुपर्ने थियो । हाल मलेसिया उडानमा नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स छन् । त्यस्तै मलेसियाबाट मलेसिया एयरलायन्स र वाटिक (मालिन्दो) एयर र थाई लायन गरी यो रुटमा ५ वायुसेवा छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356