गत वर्ष असोज १९ देखि २४ सम्म लगातार वर्षात भयो । २०७९ असोज २२ मा पहिरोले बारकोटेका दुई घर पुरिए । भारतमा जडीबुटी र कम्बल बेच्ने सिजनल काम गरेर घर खर्च टार्ने श्रीमान्लाई सोही पहिरोले घरसँगै निलेपछि सबै जिम्मेवारीको भार १९ वर्षीया सम्झनाको थाप्लामा आइलागेको छ । एकातिर श्रीमान् गुमाएको एकल जीवन र अर्कातिर सडकले उजाड बनाएको जिन्दगीको गाडी सकी नसकी धकेल्नुपर्ने सकसपूर्ण दैनिकी उनको नियति बनेको छ । ‘श्रीमान् भया भए यो दुःख हुँदैन थियो,’ उनले भनिन्, ‘रोड काटेको पहिरोले श्रीमान् लग्दियो, हामी बाँचेकालाई बिचल्ली बनायो ।’ सम्झना तीन वर्षको छोरा र अपांगता भएकी सासूको रेखदेख गर्दै छिमेकीको घरमा ओत लागेकी छन् ।
बस्तीदेखि तीन सय मिटरमाथि सिंचाइ कुलो छ । दुई वर्षअघि डोजर लगाएर खनिएको ग्रामीण सडकले कुलोमा क्षति पुर्यायो । ‘यताको भूगोल उसै कमजोर छ, डोजर लगाएर झन् खुकुलो भयो, पानी परिरह्यो, कुलोको पानी हाम्रैतिर बग्यो, त्यसले पहिरो ल्यायो,’ स्थानीय डम्बरबहादुर शाहीले भने । सडक निर्माण हुँदाका ५ नम्बरका पूर्ववडाध्यक्ष बिर्ख खत्रीका अनुसार वडासँग समन्वय नै नगरी ठेकेदार लगाएर डोजरले रोड काटेकाले समस्या आएको हो । ‘रोड काटेर फालेको माटो वर्षामा गल्यो,’ उनले भने, ‘त्यही माटो भत्किएर अहिले क्षति भयो ।’ बस्ती नजिकैको चट्टान पनि पहिरोले खस्न थालेको छ ।