बैंकमा थुप्रियो ११७ किलो सुन, फागुन २२ यता भएन आयात सुनको मूल्यले रेकर्ड बनाएपछि बिक्री सुस्त, गहना व्यवसायी भन्छन्, ‘दैनिक बिक्री कोटा २० किलो भए पनि ५ किलो बिकेन, बैंकलाई आयात नगरिदिन आग्रह गर्दै आएका छौं’

Logo
Red FM बिहिबार, चैत्र २२, २०८०

विराटनगर— वैशाखको बिहेको सिजन सुरु हुन पुगनपुग दुई साता बाँकी छ । गहना व्यवसायीको भनाइ मान्ने हो भने विगतको अवस्था हेर्दा सिजन सुरु हुन दुई–तीन साताअघि नै गहनाको माग हुन्थ्यो । बजारमा चहलपहल बढ्थ्यो । तर यसपालि गहना बजारमा चहलपहल छैन । यसको एउटै कारण हो, सुनको मूल्यमा कीर्तिमानी ।

सुनको मूल्यले कीर्तिमानी बनाएपछि गहना बजार सुस्त रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सर्वसाधारण खरिदभन्दा पुराना गहना बिक्री गर्न आउन थालेको महासंघको भनाइ छ । राष्ट्र बैंकले सुनको दैनिक कोटा २० किलो पुर्‍याए पनि यति बेला ५ किलो बिक्न पनि धौधौ छ । ‘मूल्यले नयाँ/नयाँ रेकर्ड बनाएको छ । यही कारण बिहेको सिजन नजिकिए पनि गहनाको माग घटेको छ, बजार सुस्त छ,’ महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले भने, ‘बजारमा माग नभएपछि बैंकलाई आयात नगरिदिन आग्रह गर्दै आएका छौं ।’

सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । त्यस्तो सुन वाणिज्य बैंकले मात्र बिक्री गर्न सक्छन् । कोटा बढाएर दैनिक २० किलो वितरण गर्छन् । सिजनमा कोटा बढाउन माग गर्छन् । अहिले भने कोटाअनुसार खरिदबिक्री भएको छैन । बैंकले आयात गरेको सुन व्यापारीले गरगहना बनाएर मात्रै बेच्न पाउने व्यवस्था छ ।

उच्च मूल्यमा सुन खरिद गरी आयात गर्दा विदेशी मुद्रा सञ्चिति घट्छ । व्यवसायीले खरिद नगरिदिँदा बैंक र व्यवसायीलाई आरोप लाग्छ । व्यवसायीलाई दबाब पर्ने हुँदा तत्काल आयात नगरिदिन आग्रह गरेको बज्राचार्यले बताए । ‘औपचारिक रूपमा पत्र नलेखे पनि अहिले आयात नगरिदिन पटक/पटक आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘पछिल्लो समय आयात पनि भएको छैन ।’ महासंघका अनुसार बैंकमा थुप्रिएकै सुनबाट अहिलेको माग धानिएको छ । अनौपचारिक माध्यमबाट भित्रिएको सुनले पनि बजार धानेको छ ।

सुन बैंकमा थुप्रिन थालेपछि फागुन २२ यता सुन आयात बन्द गरिएको छ । नेपाल बैंकर संघका अनुसार अहिले बैंकमा १ सय १७ किलो सुन मौज्दात छ । फागुन मसान्तसम्म १ सय ९६ किलोसम्म मौज्दात थियो । ‘थुप्रिएकै सुन गहना व्यवसायीले थोरै थोरै किनेका छन,’ संघका एक कर्मचारीले भने । बैंकमा सुन थन्किएपछि केही बैंकले आफैं पनि सुन आयात गरिरहेका छैनन् । लामो समय बैंकमा थुप्रिँदा बिमा, भाउ उतारचढावको जोखिम रहन्छ । बैंकमै सुन हुँदा होल्डिङ चार्ज बढ्दै जान्छ । बिमा पनि हुन्छ । मूल्य बढ्दा जोखिम पनि बैंकले नै बेहोर्नुपर्छ । त्यही भएर पनि बैंकले आयात गर्दैनन् ।

महासंघका अनुसार रुस र युक्रेनबीच जारी द्वन्द्व र डलरको भाउ उकालो लागेपछि सुनको भाउले कीर्तिमानी बनाएको छ । बुधबार १ अमेरिकी डलर बराबर १ सय ३३.४१ रुपैयाँ कायम भएको छ । सुनको मूल्य भने प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसरी मूल्य अचाक्ली बढ्दा सर्वसाधारणले सुनमा त्यति ध्यान दिएका छैनन् । अर्थतन्त्र शिथिल भएको अवस्थामा सर्वसाधारण दैनिक उपभोग्य सामानबाहेक खरिद नभएको महासंघको भनाइ छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । त्यसमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपालमा पनि बढाइन्छ ।

मूल्य बढेकै कारण लगनको सिजनमा असर परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । बजारमा पुरानो सुन फिर्ता आउने क्रम सुरु भएको उनको भनाइ छ । ‘मूल्य उच्च भएपछि पुरानो सुन फिर्ता आउनु स्वाभाविक हो, अहिले पनि त्यही भएको छ । बिक्रीभन्दा खरिद गर्नुपर्ने बाध्यता छ,’ अध्यक्ष शाक्यले भने, ‘मूल्यले उच्च रेकर्ड बनाइराख्दा लगनको सिजनमा असर गरेको छ ।’

चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको १८ लाख ५ सय किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ । उक्त सुन यूएईबाट आयात भएको छ । सुन आयातबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356