विराटनगर— चार दशकअघिसम्म पश्चिम नेपालकै बुटवल र नेपालगन्जपछि तराईको ठूलो व्यापारिक केन्द्र थियो राजापुर । पूर्व–पश्चिम राजमार्ग र रत्नराजमार्ग निर्माणपछि वीरेन्द्रनगर, टीकापुर, भजनी, चिसापानीलगायत ठाउँमा बजार विस्तारपछि साविक कर्णाली र सुदूरपश्चिमाञ्चलका पहाडी जिल्लाबाट राजापुरमा व्यापारी आउन छाडे ।
बजार विस्तारका क्रममा राजापुरबाहेक शान्तिबजार, मनाउ, खैरीचन्दनपुर, गोलालगायत ठाउँमा धान खरिद–बिक्री गर्ने व्यवसायी भरिँदै गएपछि यहाँ किसान आउने क्रम घट्दै गएको हो । राजापुर साविक सुदूरपश्चिम र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाका व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको थियो ।
पुरानो राजापुर बजार २०१६ सालमा आएको बाढीले बगाएपछि पूर्वतर्फ रहेको राजापुरकी क्षमाकुमारी उपाध्यायले बस्ती बसाल्न जग्गा दिएकी थिइन् । उनको नाममा १८ बिघा १० कट्ठा जग्गामा बस्ती र बजार बसेको स्थानीय ६७ वर्षीय गोपालध्वज जीसी बताउँछन् । ०२१ सालमा हदबन्दी लागू भएपछि उपाध्यायका नाममा रहेको उक्त जग्गा सरकारले आफ्नो नियन्त्रणमा लिएको थियो । अहिले उनको निधन भइसकेको छ । त्यस जग्गामा बसोबास गर्दै आएका व्यवसायी र सर्वसाधारणले भने उक्त जग्गामा हकदाबी गर्दै आएका छन् ।
नेपालगन्जलगायत भारतबाट आएका व्यवसायीले यहाँ व्यापार गर्थे । ‘यहाँको सबैभन्दा पुरानो कर्णाली वस्त्रालय, सरला राइस मिल, हीरालाल गुप्तालगायत पसल सञ्चालनमा थिए,’ जीसीले भने, ‘व्यवसायमा मन्दी आएपछि धेरैजसो पुराना व्यवसायी अन्यत्र पलायन भए ।’ द्वन्द्वकालमा कैयौं भारतीय व्यवसायी पलायन भए । नेपाली व्यवसायी भने नेपालगन्ज र कैलालीमा स्थानान्तरण भए । धानको उर्वरा भूमि मानिएको राजापुरबाट ०२१ सालअघि करिब २ लाख ५० हजार क्विन्टल धान विदेश निर्यात भएको जीसीको भनाइ छ ।
राजापुर नगर र गेरुवा गाउँपालिकामा करिब १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । करिब १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा छ । समुद्री सतहबाट १ सय ५४ मिटर उचाइमा रहेको राजापुर ०७३ सालमा नगरपालिकाले गरेको जनगणनाअनुसार ६३ हजार २ सय ९४ जनसंख्या छ । १ सय ६ वर्गकिमि क्षेत्र ओगटेको राजापुर यहाँको पुरानो जमिनदारमध्येका राजाराम कुर्मीका नामबाट राजापुर भएको स्थानीय बताउँछन् ।
४० वर्षअघि पहाडबाट सुन्तला, स्याउ, घिउ, गलैंचा, जडीबुटीलगायत सामान राजापुर ल्याउने र यहाँबाट नुन, तेल, चामल, गहुँको पिठोलगायत कपडा आदि खरिद गरी लैजाने गर्थे । अहिले मुस्किलले कर्णाली प्रदेशका व्यापारी गलैंचा, न्याना कपडा र जडीबुटी बेच्न आए पनि यहाँबाट सामान भने नकिन्ने उद्योग वाणिज्य संघ, बर्दियाका अध्यक्ष केदार थापाको भनाइ छ ।
राजापुर बजार ०३० सालसम्म गोलाहाट मण्डीका रूपमा परिचित भएको स्थानीय व्यवसायी काशीराम शर्मा बताउँछन् । पुरानो बजार भएको ठाउँ अहिले बगर बनेको उनले जनाए । सन् १८६० नोभेम्बर १ तारिखमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ब्रिटिस साम्राज्यले भारतमा शासन गर्दा नेपाललाई जंगबहादुर राणाका समय भूभाग फिर्ता भएको थियो । यसै कारण पश्चिम तराईका चार जिल्लालाई नयाँ मुलुक भन्ने गरिन्छ । यस क्षेत्रमा अधिकांश थारू समुदायको बाहुल्य छ । यसबाहेक पहाडी, अवधी मूलका बासिन्दा बसोबास गर्छन् ।
कर्णाली नदीमा पर्यटकका लागि मोटरबोट सञ्चालनमा ल्याइएको छ । नेपालकै लामो पुल कोठियाघाट लगायत कर्णाली नदीमा रहेको पर्यटकको आकर्षण डल्फिन, प्रसिद्ध गणेश मन्दिरमा श्रद्धालु बढीभन्दा बढी भित्र्याउने लक्ष्य छ । प्राकृतिक तालतलैया, सिमसार क्षेत्र तथा नदीहरू र हरियाली अत्यन्तै नजिकबाट अवलोकन गर्न सकिने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण भएकाले कार्ययोजना तयार पारिएको छ । यसबाहेक थारू संस्कृति पनि पर्यटकका लागि ऐतिहासिक गन्तव्य छ ।