विराटनगर— जबरजस्ती करणीमा दोषी करार भइ कारागार चलान भएका पीडकले जेलबाटै फोन गरेर आफूलाई धम्क्याएको भन्दै पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौं जिल्ला अदालतले गत असोज २२ मा गरेको फैसलाअनुसार ७ वर्ष सजाय पाएका नुवाकोटका पशुपति मैनालीले डिल्लीबजार कारागारबाट पटक पटक फोन गरेर धम्की दिने गरेको पीडित सिंहदरबार–८४ ले बताएकी छन् ।
‘सुरुमा त मैले कारागारमा भएको मानिसले के नै गर्न सक्छ र भनी त्यति वास्ता गरिनँ,’ पीडित युवतीले भनिन्, ‘तर, पछिल्लो पटक फोन गरेर मलाई मुद्दा हालेर थुनाइस्, अब तँलाई र तेरो छोराछोरी समेतलाई गुन्डा लगाएर अपहरण गरी मारिदिन्छु भन्यो ।’ गुन्डा लगाउँछु भनेपछि आफूलाई असुरक्षा महसुस भएकाले गाउँ छाडेर अन्यत्रै बस्नुपरेको उनले बताइन् । ‘कारागारको मोबाइल नम्बरबाट फोन गरेको रहेछ, जेलमा परिसकेपछि पनि यस्तो धम्की आएपछि मलाई कहीँ जानसमेत डर लागिरहेको छ,’ उनले भनिन् ।
सिंहदरबार–८४ ले प्रहरीवृत्त सिंहदरबारमा पीडकलाई झिकाइ अनुसन्धान गरिपाऊँ भनी उजुरी दिएकी छन् । पीडितका अनुसार निवेदन दिएपछि कारागार प्रशासनले परिवारलाई फोन गर्न पाउने सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको जनाएको छ । पीडित युवतीका श्रीमान् विदेश गएका बेला पीडक मैनालीले घरैमा आएर राति सुतिरहेका बेला जबरजस्ती करणी गरेको र हल्ला गरे बेइज्जत गर्दिन्छु भनेर डर देखाइदेखघ पछिसम्म पनि करणी गर्ने गरेका थिए । उनले यौन गतिविधिको ‘भिडियो खिचेको छु’ भनेर धम्क्याई जबरजस्ती गर्दै आएको पीडितले अदालतमा दिएको बयानमा उल्लेख छ ।
उनका अनुसार पछिल्लो पटक मैनालीले पीडितलाई भिडियो डिलिट गर्छु भनी बोलाएर २०७८ कात्तिक १५ मा बागबजारको एक होटलमा लगेर जबरजस्ती करणी गरेका थिए । घटनालगत्तै पीडित युवतीले प्रहरीलाई खबर गरेपछि मैनालीविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको थियो । पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतले मैनालीलाई थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले धरौटीमा छाडेको थियो । गत जेठ २६ मा सर्वोच्चले उच्चको आदेश बदर गरेको थियो । पछि जिल्ला अदालतले गत असोज २२ मा दोषी ठहर गरेपछि भने पीडक कारागारमा छन् । धरौटीमा छुटेपछि पनि पीडकले ज्यान मार्ने धम्की दिएपछि आफू लामो समयसम्म लुकीलुकी हिँड्नुपरेको पीडित युवतीले बताइन् ।
‘घटनापछि म घरबाट निकालिएँ, माइतमा बस्न सक्ने अवस्था रहेन,’ पीडित युवतीले कान्तिपुरसँग भनिन्, ‘पीडकबाट त अन्यायमा परेँ परेँ, घरकाले पनि मलाई निकालेर छोराछोरीलाई भेट्ने अधिकारबाट बञ्चित गरेका छन्, मलाई सबैतिरबाट अन्याय भइरहेका बेला जेलबाट छोराछोरीसहित मलाई अपहरण गरी मार्ने धम्की आएपछि एकदमै डर लागिरहेको छ ।’