स्वयं लामिछाने पनि सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिनमा प्रभाव पार्ने मन्त्रालयको नेतृत्वमा रहेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले संसद् अवरोध गरिरहेको छ । कांग्रेसले गृहमन्त्रीबाट लामिछानेले राजीनामा दिनुपर्ने, संसदीय छानबिन समिति गठन गर्नुपर्ने लगायतका सर्त अगाडि सार्दै त्यसो नगरिए संसद् अवरोध गर्ने चेतावनी दिँदै आएको छ । जवाफमा लामिछानेले भने सहकारी ठगीमा संलग्न रहेका राईलाई पक्राउ गर्ने भन्दै कांग्रेसलाई बहसमा आउन चुनौती दिएका छन् ।
‘ऊ दोषी रहेछ भने सबक सिक्नुपर्छ । कारबाही हुनुपर्छ र अर्को कुरा पनि भन्न चाहन्छु आकाश–पाताल जहाँ रहेको भए पनि समाएर ल्याउँछौं । समय लाग्ला । कसले भगायो त्यो पनि खोज्छौं,’ उनले भने । गोर्खा मिडिया ग्रुपमा जीबी राई आफ्नो व्यापारिक साझेदार भए पनि त्यसपछि भने उनीसँग कुनै सम्बन्ध नरहेको लामिछानेले दाबी गरेका छन् । आफ्नो र राईको सम्बन्ध रहेको भनेर अफवाह फैलाइएको उनको भनाइ थियो । ‘कहिलेकाहीं गलत कुरा भनिदिइसकेपछि हो कि क्या हो जस्तो लाग्छ कतिलाई । सुन्नेहरूलाई पनि होला यो जीबी राईसँग टीभी पनि चलाएकै हो, भनेपछि हो कि क्या हो भन्ने कतिलाई लाग्दो पनि होला,’ उनले भने, ‘जीबी राई जोडिएका हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग मैले टेलिभिजनमा काम गरेको हो । टेलिभिजनसँगै उनीसँगको मेरो नाता पनि सकिएको हो । त्योभन्दा बढी कहीं पनि कतै पनि छैन ।’
लामिछाने कांग्रेसप्रति भने आक्रामक भएका छन् । संसद्मा कुरा राख्न खोज्दा पनि कांग्रेसकै कारण नपाएको भन्दै लामिछानेले कहाँ बहस गर्ने हो, समय चाहियो भन्दै सार्वजनिक मञ्चबाटै चेतावनी दिएका छन् । सहकारीमा आफ्नो खाता पनि नरहेको तर ठगी गरेको भन्ने आरोप लाग्दै आएको बताउँदै लामिछानेले त्यसरी आरोप लगाउने सहकारी पीडितवालाहरूमाथि पनि अनुसन्धान हुने चेतावनी दिएका छन् । उनले सहकारीमा क–कसको अवैध पैसा जम्मा भएको छ भन्ने कुरा सरकारले खोज्ने बताए । ‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीहरूमा क–कसको अवैध पैसा लागेको छ, राखिएको छ, अब त्यसको पनि हिसाब हुन्छ,’ उनले चेतावनी दिए, ‘कसले आफ्नो कालोधन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ, दूधको दूध, पानीको पानी निस्कन्छ ।’ सहकारीका वास्तविक पीडितले पैसा ब्याजसहित फिर्ता पाउनुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो ।
सरकारमा बसेर प्रतिशोध कसैसँग नसाध्ने पनि लामिछानेले बताए । ‘राज्यमा प्रतिशोध साध्न गएका होइनौं । कसैमाथि प्रतिशोध साध्दैनौं,’ उनले भने, ‘कस–कसले हामीमाथि प्रतिशोध साधे चिन्छौं, तर हामी त्यसो गर्दैनौं । विधि र कानुनले जे भन्छ त्योभन्दा दायाँबायाँ जाँदैनौं ।’ जोखिम मोलेर रास्वपा सरकारमा गएको रास्वपा सभापतिसमेत रहेका लामिछानेको भनाइ थियो । उनले काम गर्न नसकेको र काम गर्न नदिएको दिन सरकार छोडेर हिँड्ने पनि बताए । ‘हामी देशको ठूलो राजनीतिक दल कांग्रेसजस्तो गलहत्याएर जान चाहँदैनौं,’ उनले भने, ‘काम गर्न नसकेको र नपाएको दिन छोडेर जान्छौं । राजीनामा झोलामा बोकेर हिँडेका छौं ।’