विराटनगर —प्रदीप खड्का र अभिलाषा विष्टले शुक्रबार १२ औं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकल फाइनलमा प्रदीपले रितिक रानालाई ६–४, ३–६, ६–० ले र महिला एकल फाइनलमा अभिलाषाले माहिका राणालाई ६–२, ६–४ को सेटमा पराजित गरी उपाधि जितेका थिए !
मिक्स डबल्समा रितिक र अभिलाषाको जोडीले प्रदीप र माहिकाको जोडीलाई ६–४, २–६, १०–६ ले हराएर उपाधि जित्यो ।
३५ वर्षमाथि भेट्रान्स एकलमा अनिल शाही र सोही उमेर समूहको डबल्सतर्फ इलुम दीक्षित र जितेन्द्र परियारको जोडी विजेता बने/
४५ वर्ष भेट्रान्समा रोहित सुनुवार र डबल्समा कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडी विजेता भयो । ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फ विमल वाइबाले राजु श्रेष्ठलाई २–६, ६–१, १०–४ ले हराए । ५५ वर्षमाथि भेट्रान्स डबल्सतर्फ विमल वाइबा र हिमाल शाहको जोडीले उपाधि जित्यो ।
६५ वर्षमाथि भेट्रान्स एकलमा कमल थापाले मनोज राणालाई ४–१, ४–२ ले उपाधि जित्दा इन्टर गभरमेन्ट डबल्सतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडी विजेता बन्यो । नेपाल एपीएफ क्लबको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कृत गरे ।