किन पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ?

Logo
Red FM शुक्रबार, चैत्र ०९, २०८०

नयाँदिल्ली — भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । दिल्लीस्थित उनको सरकारी निवासमा प्रवेश गरेका ईडीका अधिकारीले दुई घण्टाको सोधपुछपछि उनलाई नियन्त्रणमा लिएका हुन् ।

लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने बताइएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का एक जना प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् ।

दुई महिनाको अन्तरालमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ ।

मदिरासम्बन्धी नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा ईडीले केही समयदेखि उनलाई सोधपुछका लागि बोलाउँदै आएको थियो । एक दिनअगाडि मात्रै ईडीले केजरीवाललाई १० औं पटक बोलाएको थियो । तर, दिल्लीका मुख्यमन्त्री केजरीवाल ईडीको विरुद्ध दिल्ली उच्च अदालत गएका थिए । तर, अदालतले बयानका लागि जान नपर्ने केजरीवालको माग अस्वीकार गरेपछि ईडीका अधिकारीहरू बिहीबार केजरीवालको गिरफ्तारीको तयारीसहित उनको निवास पुगेका थिए । मदिरासम्बन्धी नीति ल्याएर दिल्ली सरकारले भ्रष्टाचार गरेको आरोपमा दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सांसद सञ्जय सिंह यसअघि नै हिरासतमा छन् ।

दिल्ली सरकारले तीन वर्षअघि मदिरा बिक्रीसम्बन्धी नयाँ नीति ल्याएको थियो । त्यही नीतिलाई दिल्लीमा विपक्षीको भूमिकामा रहेको भारतीय जनता पार्टीले ‘नीति घोटाला’ भन्दै केजरीवाल सरकारलाई घेर्दै आएको छ । २०२१ अगाडि दिल्लीमा मदिराको विक्रेतामा ६० प्रतिशत सरकारी र ४० प्रतिशत निजी कारोबारी थिए । तर, केजरीवाल सरकारले नयाँ नीति ल्याएर मदिरा बिक्री वितरणको सम्पूर्ण जिम्मा निजी क्षेत्रलाई दिएको थियो ।

यही प्रकरणमा दिल्ली सरकारमाथि सय करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ । त्यसमा भ्रष्टाचारको आरोप र विवाद बढेपछि केजरीवाल सरकारले एक वर्षपछि उक्त नीति फिर्ता लिएको थियो । ईडीले सोही प्रकरणको छानबिन गर्दै आएको छ । एक वर्षअगाडि सोही मुद्दामा उपमुख्यमन्त्री मनीष सिसोदियालाई ईडीले पक्राउ गरेको थियो । अहिलेसम्म उनी हिरासतमै छन् । केही महिनाअगाडि राज्यसभा सांसद सञ्जय सिंह पनि पक्राउ परे । मदिरासम्बन्धी नीति घोटालाबाहेक ईडीले केजरीवालमाथि दिल्ली जल बोर्डमा पनि भ्रष्टाचार गरेको आरोपमा सोधपुछ गरिरहेको छ ।

मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले भने ईडीको कारबाहीलाई भाजपा निर्देशित भएको आरोप लगाउँदै आएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

आपका नेता तथा दिल्लीका मन्त्री अतिशीले सञ्चारमाध्यमसँग कुरा गर्दै केजरीवाल दिल्लीको मुख्यमन्त्री कायम रहने बताएकी छन् । उनले हिरासतबाट पनि दिल्लीको सरकार केजरीवालले नै चलाउने बताएकी छन् । उनले केजरीवालको पक्राउलाई भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भनेकी छन् । ईडीको कारबाहीविरुद्ध इमर्जेन्सी सुनुवाइका लागि आफूहरूले सुप्रिम कोर्टमा अपिल गरेको उनले बताइन् ।

अन्ना हजारेले चलाएको भ्रष्टाचारविरोधी आन्दोलनमा लागेर चिनिएका केजरीवालले सन् २०१२ को नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । लगत्तै विधानसभा निर्वाचनमा भाग लिए र २०१३ देखि तीनवटा चुनाव जितेर केजरीवाल लगातार दिल्लीको मुख्यमन्त्री छन् । भ्रष्टाचारविरोधी चेहराका रूपमा परिचय बनाएका र सुशासनको नारा दिएर चिनिएका केजरीवाल भ्रष्टाचारकै आरोपमा पक्राउ परेका छन् । केजरीवालको नेतृत्वमा आम आदमी पार्टीले दिल्लीपछि पन्जाब राज्यको विधानसभा चुनाव अत्यधिक बहुमतले जितेर सरकार चलाइरहेको छ । आपले छोटो अवधिमा राष्ट्रिय पार्टीको दर्जा पनि पाइसकेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356