विराटनागार — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । सत्ता गठबन्धन परिवर्तनपछि हुन लागेको उनको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सत्तारूढ दल माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठको उत्तरी छिमेकको यात्रालाई
सद्भावना भ्रमण भनिए पनि त्यहाँका विभिन्न सहरमा हुने कूटनीतिक र राजनीतिक भेटवार्ता तथा धार्मिक यात्राले महत्त्व राख्नेछन् । नयाँ गठबन्धन बनाउन सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठको माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग निकट सम्बन्ध रहेका कारण पनि उनको भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
कूटनीतिक र राजनीतिक भेटवार्तामा व्यस्त रहँदै तिब्बतको मानसरोवर यात्रासमेत गर्न उपप्रधानमन्त्री श्रेष्ठ नौदिने चीन भ्रमणमा आइतबार काठमाडौंबाट बेइजिङ उड्दै छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा श्रेष्ठले चैत ११ देखि १९ सम्म भ्रमण गर्न लागेका हुन् । बेइजिङमा उपप्रधानमन्त्री श्रेष्ठले त्यहाँका विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्तासँगै दुई मुलुकबीचका विविध पक्षबारे कुराकानी गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्रको जिम्मेवारी सम्हालेपछि हुन लागेको पहिलो विदेश भ्रमण कूटनीतिका साथै राजनीतिक भेटघाटमा पनि केन्द्रित हुने बताइन्छ । सद्भावना भ्रमण भएका कारण दुई मुलुकका परराष्ट्रमन्त्रीबीच हुने द्विपक्षीय बैठकमा कुनै सम्झौता नहुने परराष्ट्र स्रोतको दाबी छ ।
श्रेष्ठले बेइजिङपछि चीनका विभिन्न प्रान्तमा राजनीतिक भेटवार्ता गर्नेछन् । उनले छोङछिङ, ल्हासा र छेन्दुका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का प्रान्तीय सचिवहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ गत असारमा गृहमन्त्री हुँदा पनि सिचुवान प्रान्तको छेन्दु भ्रमण गरेका थिए । पछिल्लो समय नेपालमा तिब्बत, सिचुवान र छोङछिङबाट लगातार भ्रमण भइरहेका छन् भने नेपाली टोलीहरू चीन जाँदा पनि उक्त स्थानमा गएर फर्किरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल असोजमा चीन भ्रमण गर्दा पनि छोङछिङ र ल्हासा गएका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले चीनमा हरेक वर्ष हुँदै आएको बोआओ फोरम फर एसियामा नेपाली टोलीको नेतृत्व गर्दै सहभागिता भने नजनाउने भएका छन् । चीनबाट यसै साता निम्तो आएपछि श्रेष्ठ जाने तयारीमा थिए । तर बेइजिङबाट विदेशमन्त्री वाङको निम्तो आएपछि बोआओमा नजाने भएका हुन् । अब बोआओ फोरममा नेपालका तर्फबाट चीनमा रहेका नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेतृत्व गर्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।
बोआओ फोरम चैत १३ देखि १६ सम्म हुँदै छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त फोरममा नगएर भारत भ्रमण गरेका थिए । दाहालले उक्त भ्रमण रद्द गरेपछि चिनियाँ पक्षले असन्तुष्टि जनाएको थियो ।