काठमाडौँ — संस्कृतमा एउटा श्लोक छ– विद्या धनम् सर्व धनम् प्रधानम् । अर्थात्, धनहरूमा विद्या प्रमुख छ । किनभने, यसले निर्धोलाई पनि बल दिन्छ, पछि परेकालाई अघि लैजान्छ अनि बोल्न नसक्नेलाई वाणी दिन्छ । आफूले बिताएका दिनहरू र तय गरेका घुमाउरा बाटोहरूका बारेमा गफिँदा अग्लो कदका कृष्णप्रसाद ढकालका दुई जिज्ञासु आँखा विद्याधनको यही शक्तिलाई सम्झेर पुलकित हुन्छन् ।
अचेल परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी एसिया महाशाखाका प्रमुख ढकाल चीन, जापान र कोरियालगायतका मुलुकसँगको कूटनीति हेर्नुपर्ने हुनाले ‘तुलनात्मक रूपमा’ व्यस्त छन् । आजभन्दा २१ वर्षअघि निजामती सेवाको शाखा अधिकृतमा जागिर सुरु गरेका उनी उपसचिवको खुला प्रतिस्पर्धाको एकमात्रै टपर हुन्, जो अन्य समूहको सेवाबाट परराष्ट्रमा जाने विरलै ‘करिअर डिप्लोम्याट’ मा पर्छन् । यहाँसम्मको उनको यात्रा अपत्यारिलो सफलताले भरिएको छ । लोक सेवाको भर्याङ चढेरै दामलका दौंतरीहरूमा सबभन्दा अघि बढेका ढकाल एक हिसाबले आफ्नो परिवेशबाट उछिट्टिएका थिए । र त्यो उछिट्याउन मद्दत गरेको थियो पुस्तकप्रतिको उनको एकोहोरो लगावले ।
काभ्रेको मण्डन–देउपुरको तपेश्वर मावि तिनताक प्रस्तावित माध्यमिक विद्यालय थियो । लगातार तीन वर्षसम्म कसैले पनि प्रवेशिका उत्तीर्ण नगरे प्रस्तावित मावि खारेज हुन सक्थ्यो । तेस्रो वर्ष २०५१ मा ठूलो संख्यामा प्रवेशिका परीक्षा दिनेमा कृष्णप्रसाद पनि थिए । नतिजा कस्तो आयो भने, कृष्णप्रसाद एक्ला परे उत्तीर्ण हुनेमा । ‘एसएलसी पास गर्ने गाउँकै एक्लो र पहिलो थिएँ, त्यो पनि प्रथम श्रेणीमा,’ कृष्णप्रसाद भन्छन्, ‘त्यतिबेला पास हुँदा जुन खुसी मिलेको थियो, त्यो कहिल्यै बिर्सन सक्दिनँ ।’
राजधानीबाट नजिक भएर पनि उनको गाउँ दुर्गम थियो । त्यसैले पढ्नमा रुचि जगाउने परिवेश र मानिसको अभाव थियो । यस्तोमा उछिट्टिएर थप पढाइ गर्न काठमाडौं आइपुग्नु उनको जीवनको एक नियमित घटना होइन, एक आकस्मिक संयोग थियो । काठमाडौंमा पढ्दापढ्दै उनले साझा प्रकाशनमा जागिर पनि खाएका थिए ।
कलेजमा उनका केही साथी स्याङ्जातिरका थिए, जो रातदिन लोक सेवा आयोगका लागि तयारी गरिरहेका हुन्थे । त्यसमध्येका एकले ढकाललाई पनि यसै गर्न सुझाए । प्रयास गरे नाम निस्कन्छ भन्ने तिनको सुझाव थियो । नभन्दै, बीबीएस सकिएको वर्षमै उनले शाखा अधिकृतको परीक्षा पास गरे र निजामती सेवामा प्रवेश पाए । ‘यसका लागि म उहाँप्रति ऋणी छु,’ ढकालले भने, ‘हाम्रोतिर लोक सेवा आयोग दिने मैले चिनेजाने र सुनेको कोही पनि थिएन ।’
अहिलेजस्तो तन्नेरीहरू विदेश जाने समय थिएन त्यो । त्यसैले, लोक सेवामा एउटा पदका लागि हजारौंको आवेदन पर्थ्यो र नाम निकाल्नु भनेको धेरै ठूलो चिठ्ठा पर्नु सरह थियो । कृष्णप्रसादले जाँच दिएको वर्ष निजामती सेवाको सामान्य प्रशासनको ७७ शाखा अधिकृतका लागि २१ हजार प्रतिस्पर्धी सहभागी थिए । त्यसमध्ये अन्तिम छनोटमा
आफ्नो नाम पनि देख्दा कृष्णप्रसादको खुसी ठेगानमा थिएन । अधिकृत भइसकेपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ९० दिनको आधारभूत प्रशासनिक तालिम दिन्थ्यो । त्यसमा टप गरेर ढकालले गोल्ड मेडल पाए । यो उनको जागिरे जीवनको दमदार सुरुवात थियो ।
शाखा अधिकृतमा जागिर खाएको आठौं वर्ष अर्थात् २०६७ कृष्णप्रसादका लागि यादगार रह्यो । लोक सेवा आयोगले विज्ञापन गरेका विभिन्न ८ ओटा परीक्षा– प्रशासन सेवाको सहसचिव (खुला), सामान्य प्रशासन समूहको उपसचिव (आन्तरिक र खुला), राजस्व समूहको उपसचिव (आन्तरिक र खुला), लेखा समूहको उपसचिव (आन्तरिक र खुला) र परराष्ट्र सेवाको उपसचिव (खुला) गरी सबै लिखित परीक्षामा उनको नाम निक्लियो ।
लोक सेवा आयोगको इतिहासमा एकै पटक उच्च तहका आठ वटा परीक्षा त्यो पनि फरक–फरक सेवा (प्रशासन, लेखा, राजस्व र परराष्ट्र) उत्तीर्ण गरेको रेकर्ड थियो त्यो । त्यतिखेर प्रशासनतर्फ सहसचिवको अन्तर्वार्तामा उनको नाम निक्लेको भए लोक सेवा लडेर ३१ वर्षको उमेरमा त्यस पदमा पुग्ने अभिलेख उनकै नाममा रहन्थ्यो । त्यसमा असफल भए पनि दुई वर्षपछि २०६९ मा परराष्ट्र सेवाको सहसचिव पदमा खुला प्रतिस्पर्धाबाट छनोट भए । ३३ वर्षको उमेरमा परराष्ट्र सेवाको सहसचिव हुने पहिलो व्यक्ति तिनताक उनी नै थिए ।
यसरी, सामान्य प्रशासन सेवा समूहबाट अधिकृत र उपसचिवको रूपमा राष्ट्रिय योजना आयोगको सचिवालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतका निकायमा बिताएका ढकालको कूटनीतिक करिअर ३५ वर्षको उमेरमा सुरु भयो । एउट सहसचिव पदका लागि गरिएको विज्ञापनमा सहभागी भएका एक सयभन्दा बढी प्रतिस्पर्धीमा टपर घोषित ढकाललाई त्यहाँ पुर्याउने शक्ति भनेको उही एकोहोरो लगाव नै थियो ।
परराष्ट्रमा सेवाभन्दा बाहिरबाट सिधै सहसचिव भएका घटना विरलै छन् । त्यसको १२ वर्षअघि अर्जुनबहादुर थापा अन्य सेवाबाट परराष्ट्रमा सहसचिव भएर आएका थिए, जो पछि परराष्ट्रकै सचिव र सार्कका महासचिव पनि भए । थापाको बिँडो थाम्दै अधवैंसे जोवनमा परराष्ट्र प्रवेश गरेका ढकालपछि ११ वर्ष बितिसक्दा पनि सहसचिवमा अन्य समूहबाट कोही त्यहाँ प्रवेश गरेको छैन । ‘त्यस हिसाबले यो एक हम्मेसी देख्न नपाइने परिणाम रहेछ,’ ढकाल भन्छन्, ‘यस्तो विरल संयोग मेरा भागमा पर्नु निकै खुसीको कुरा हो ।’
जागिरपछि पनि पढाइ जारी राख्दै व्यवस्थापनमा नेपालबाट एमबीएस र दक्षिण कोरियाबाट एमबीए गरेका ढकालको अनुभवमा ज्ञान आर्जनका चार स्रोत छन्– अध्ययन, अवलोकन, अन्तरक्रिया र चिन्तन । ‘मैले यी चार ओटै तरिकालाई उत्तिकै प्रयोग गरें,’ उनी भन्छन्, ‘अध्ययनको स्रोत सामग्री र विषय प्रायः सबैको उस्तैउस्तै हुन्छ तर अवलोकन र चिन्तनले बुझाइमा नयाँ धार ल्याउँछ र विषयवस्तुको गहिराइसम्म लैजान्छ ।’
‘फलानो परीक्षा कुनै हालतमा उत्तीर्ण गर्नुपर्छ, नभए त बर्बादै हुन्छ’ भन्ने सोचेर पढ्यो भने दबाब सिर्जना हुन्छ भन्ने सिद्धान्तका पक्षधर उनलाई लाग्छ– गन्तव्यभन्दा यात्रालाई जोड दिनुको स्वादै बेग्लै हुन्छ । ‘पढ्दै जाँदा ज्ञानका नयाँनयाँ क्षितिज उघ्रिँदै जान्छन्, मज्जा पनि मिल्दै जान्छ,’ लोक सेवाको तयारी गरिरहेका तन्नेरीका लागि कृष्णप्रसादको सुझाव छ, ‘परीक्षालाई केन्द्रमा राख्नु गलत होइन तर पढ्ने सिर्फ परीक्षा उत्तीर्ण गर्न मात्रै हो भन्ने सोच्यो भने सकस हुन्छ ।’
सकस र निराशाबाट उम्किन उनले यस्तो रणनीति अपनाए तापनि तयारीका दिनहरू कति नाजुक थिए भने डेरामा अड्डी कसेर पढेपछि आधा रातमा बेस्सरी भोकाएका बेला खाना पकाउन खोज्दा कहिले चामल र तरकारी सकिएको हुन्थ्यो त कहिले स्टोभमा मट्टितेल सकिएको भेटिन्थ्यो । राति किन्न नपाइने असुविधाले गर्दा कति रातहरू उनले चिउरा र बिस्कुट खाएर कटाए । खानपान, निद्रा, आराम र अरू रमाइला कुरामा समय दिए पढाइ फुत्किने र पढाइमा डटेर लागे व्यावहारिक जीवनका अनेक पक्षक खस्किने एक सामान्य नागरिकको अनिवार्य नियतिलाई उनले पनि मज्जैले झेल्नुपरेको थियो । र पनि, उनले पढाइ र आरामको सन्तुलनलाई भरिशक्य मिलाउने प्रयत्न भने गरिरहे । अनि, उनले यो हैरानीलाई तयारीकै एक अंग माने र निराश हुनबाट आफूलाई जोगाए ।
नयराज पन्तले कतै भनेको ‘दिनमा १३–१४ घण्टा पढ्नुपर्छ’ उनको कानमै गुन्जिएजस्तो हुन्थ्यो । कोट्याउँदै गएपछि ढुंगो पनि फुट्छ भन्ने कृष्णप्रसादलाई के लाग्छ भने घोटिएर लागेपछि आउने ज्ञानरसको स्वाद गज्जबको हुन्छ । परीक्षा भनेपछि धेरैलाई डर लाग्छ । तर, कृष्णप्रसाद भने यस दिनलाई उत्सव मान्नुपर्छ भन्छन् । ‘यो एक यस्तो भर्याङ हो, जसले हामीलाई माथि लैजान्छ,’ परीक्षाबारे उनको बुझाइ छ, ‘हामीलाई नर्सरीदेखि पीएचडीसम्मको उपाधि दिलाउने यही परीक्षा होइन र ? त्यसैले, म परीक्षाको दिनलाई उत्सव मान्छु र अघिल्लो रातदेखि नै पढ्न छोडिदिन्छु, मुड फ्रेस बनाउन ।’
लोक सेवाका टपरहरूमा समय व्यवस्थापन गर्ने एउटा मिल्दोजुल्दो ढाँचा देखिन्छ । त्यो के भने, प्रत्येक अंकका लागि बराबर समय छुट्याउने । जस्तो कि, १०० पूर्णांकको परीक्षा ३ घण्टामा लेखिसिध्याउनु १ अंकका लागि १.८ मिनेटका दरले १० अंकका लागि १८ मिनेट सालाखाला लगाउने । ‘यसमा बढीमा २ मिनेट घटबढ हुन सक्छ,’ ढकालको अनुभव छ, ‘त्यसभन्दा बेसी कदापि घटबढ गर्न हुँदैन ।’
लोक सेवा आयोगको परीक्षाको तयारीलाई एउटा गम्भीर साधना नै मान्नेका लागि नतिजा हात पार्न गाह्रो छैन । ‘यसो दिई हेरौं न त’ भनेर परीक्षामा बस्नेको भागमा चाहिँ अक्सर दिक्दारी हात लाग्छ भन्ने उनी ठान्छन् । ‘सुविचारित, सुनियोजित र समर्पित साधनाबाट मात्रै सफलता प्राप्त हुन सक्छ,’ उनी भन्छन्, ‘लोक सेवा आयोगको परीक्षा वास्तवमा तपार्इंको प्रतिबद्धता र समर्पणको पनि परीक्षा हो ।’
उनलाई लाग्छ, एउटाको सफलतामा थुप्रैको सहयोग र सद्भावले काम गरेको हुन्छ । फरक के भने, कसैको सहयोग प्रत्यक्ष हुन्छ त कसैको अप्रत्यक्ष । कृष्णप्रसादको यो सफलतामा पनि धेरैको नदेखिने सहयोग छ । जस्तो कि, उनले कैयौं लेखकका लेख, रचना र पुस्तकबाट अनेकन् नयाँ कुरा सिके । ‘कतिका नोटहरू प्राप्त गरें, कैयौं विद्वान्सँग भेटेरै जिज्ञासा राखें,’ उनी भन्छन्, ‘कतिले पढ्ने वातावरण बनाइदिए, केहीसँग मिलेर पनि पढियो ।’
यसरी, आफ्नो मिहिनेतमा देखिने नदेखिने अनेकनको सहयोगले कुनाको सुनसान गाउँ देउपुरबाट कूटनीतिक निकायको माथिल्लो तलामा पुगेका ढकाल सेवा प्रवेश गरेको अर्को वर्ष नयाँदिल्ली पुगे र त्यहाँ नियोग उपप्रमुख भई तीन वर्ष बसे भने दुई वर्षभन्दा बढी कार्यवाहक राजदूत भएर काम गरे । विनाशकारी भूकम्प आएका बेला उनी दिल्लीमै थिए । भारत सरकारले गरेको सहयोग नेपालमा पठाउने चाँजोपाँचोका लागि दुई देशबीचको समन्वय गर्ने दुर्लभ अवसर उनले पाए ।
संसारकै अग्लो भवन बुर्ज खलिफा संसारकै ठूलो डिजिटल डिस्प्ले पनि हो, जहाँ संसारभरबाट आफ्नो उत्पादन वा विचार प्रचार गर्न आएकाहरूको होडबाजी नै लाग्छ । दैनिक हजारौंले भ्रमण गर्ने त्यस अग्लो भवनको डिजिटल भित्तामा २०७६ को असोज ३ गते नेपालको झन्डा फहरायो । एकैछिन विज्ञापन गरेकै लाखौं रुपैयाँ लाग्ने झन्डा निःशुल्क फहराउने व्यवस्था मिलाएका थिए उनै कृष्णप्रसादले ।
उनी त्यहाँ राजदूत भएर गएको धेरै भएको थिएन । संविधान दिवस आफू बसेको देशमा सार्वजनिक जानकारीमा आउने गरी मनाउने कूटनीतिक तरिका के होला भन्ने सोच्दा उनको मगजमा बुर्ज खलिफामा झन्डा फहराउने कुरा सुझेछ । अनि, त्यहाँको परराष्ट्र मन्त्रालयमा कृष्णप्रसादले कूटनीतिक जौंलाहात गरे । र, त्यस दिन साँझ बुर्ज खलिफा हेर्न गएका हजारौं पर्यटकका आँखामा चन्द्र सूर्य ध्वजा पनि फहरायो ।
देख्दा सानो जस्तो लागे पनि विदेशमा देशलाई चिनाउने यस्ता सांस्कृतिक तरिका कूटनीतिमा स्थापित चाल हो, जसलाई उनले पहिलो पटक राजदूत हुँदाको उत्साहमा पूरा जोसका साथ व्यवहारमा उतारे । ‘त्यो दृश्य त्यस साँझ हजारौंले प्रत्यक्ष अवलोकन गरे, लाखौंले सामाजिक सञ्जाल र आमसञ्चारका माध्ययमबाट हेरे,’ कृष्णप्रसाद मुस्कुराउँछन्, ‘त्यहाँ हेरेरे नेपालीहरूले शिर उँचो पारेको महसुस भयो ।’
उनी यूएईमै थिए । कोरोना भाइरसको विश्वव्यापी प्रकोपले धेरै नेपाली अलपत्र परे । तिनलाई नेपाल फिर्ता गर्ने सरकारी कामको नेतृत्व राजदूतका रूपमा उनैले गर्नुपर्ने भयो । परदेशमा पर्खेर बसेका ३५ हजारभन्दा बढीलाई चार्टर्ड उडानमा उद्धार गर्ने कामको नेतृत्व गरेको सम्झँदा उनका आँखा खुसीले चम्किन्छन् ।
सरकारी सेवालाई एकसाथ अवसर, दायित्व र चुनौतीका रूपमा हेर्ने उनलाई लाग्छ– राज्यका तर्फबाट काम गर्न पाउनु आफैंमा एउटा पुरस्कार हो । एकातिर, सफलताको गर्व र चुनौतीको चाप छ, अर्कातिर उनको मनमा एक दिन मरेर जाने ‘जीवनको मिथ्यापन क्षणभंगुरता बोध’ छ, जसले उनलाई आत्तिन र मात्तिनबाट रोक्छ । ‘जागिर पद, प्रतिष्ठा र पैसाका पछाडि दौडने अन्धो घोडा मात्रै होइन जीवन,’ दर्शनमा रुचि राख्ने उनी भन्छन्, ‘यो दौडेर कहीँ पनि नपुगिने, बरु दौड्दादौड्दै रमाउने खेल हो बरु ।’
जीवनका २१ वसन्त सार्वजनिक सेवामा बिताएका कृष्णप्रसाद कर्मचारीतन्त्रमा हुने भ्रष्टाचारदेखि सेवा प्रवाहमा हुने बोझिलोपनसम्मका जानकार नहुने कुरै भएन । आमरूपले कर्मचारीतन्त्रप्रति मानिसको निराशा पनि उनलाई थाहा छ । त्यसैले, उनलाई के लाग्छ भने सार्वजनिक पदाधिकारीहरूलाई नतिजाप्रति जिम्मेवार बनाउनु कर्मचारीतन्त्रको सबैभन्दा ठूलो चुनौती हो । यो चुनौती उनको भागमा पनि धेरथोर सधैं परिरहन्छ । ‘नेपाली समाज पुराना मूल्य मान्यता, अर्थतन्त्र, संरचना र संस्कार बदलेर बिस्तारै अगाडि बढ्न खोज्दै छ,’ उनको अनुभव मिसिएको विश्लेषण छ, ‘तर, नयाँ मूल्य मान्यता, अर्थतन्त्र, संरचना र संस्कारले ठोस आकार लिइसकेको छैन । यस अर्थमा हामी हरेक आयाममा संक्रमणमा छौं ।’
यस्तो बेलामा समाजलाई सपना देखाउने र त्यो सपनाको प्राप्तिका लागि सबैलाई डोर्याउने काम राज्यले गर्नुपर्छ भन्ने उनी ठान्छन् । राज्यको एउटा अंग सरकार हो र सरकारको पनि एउटा अंग कर्मचारीतन्त्र हो, जसले असल नेतृत्वका साथ प्रष्ट दृष्टिकोण र पक्का मार्गदर्शन पायो भने धेरै काम गर्न सक्छ भन्ने उनको विश्वास छ । ‘हाम्रो निजामती सेवाभित्र योग्य र इमानदार व्यक्तिहरूको कमी छैन,’ उनी भन्छन्, ‘केही भ्रष्ट मान्छेहरूको तस्बिर मात्रै उचालेर ती इमानदार कर्मचारीमाथि न्याय हुन्छजस्तो लाग्दैन ।’