विराटनगर , झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित भवगती लेमिनेट्स प्लाइउड कारखानामा लागेको आगो ६ घन्टा बित्दा पनि नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले आगो निभाउन भारतबाट दमकल बोलाएको छ ।
जिल्लाकै ठूलो प्लाइउड कारखानामा सोमबार बिहान अचानक आगो लागेपछि सुरक्षाकर्मी, स्थानीय र दमकलले आगो नियन्त्रण प्रयास गरेको ६ घण्टा बितिसक्दा पनि नियन्त्रण असम्भव भएपछि भारत नक्सलबारी ग्राम पञ्चायतसँगको सहकार्यमा २ वटा दमकल बोलाइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलले जनाए ।
सीमावर्ती क्षेत्रमा विपद् आइलाग्दा वारिपारि सहकार्य हुने गर्छ । दुई वर्षअघि काँकडभिट्टाको एसएस फुटवेयरमा आगो लाग्दा भारतीय दमकलको सहयोगमा आगो निभाइएको मेचीनगरका व्यवसायी विजय डालमियाले जानकारी दिए ।
झापा, इलाम, मोरङ, सुनसरीलगायतका जिल्लाका दर्जनभन्दा बढी दमकलले बिहानैदेखि आगो निभाउने प्रयास गरिरहेका छन् । तर, कारखानाभित्रको केमिकलमा आगो सल्किएकाले नियन्त्रण प्रयास विफल बनेको जनाइएको छ । आगलागीबाट करोडौं क्षति भएको अनुमान गरिएको छ ।